अर्थतन्त्रमा खतराको घण्टी बज्यो : पूर्वगभर्नर नेपाल

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.  चिरञ्जीवी नेपालले अर्थतन्त्रमा खतराको खण्टी बजेको बताएका छन् ।

पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचकहरु नकरात्मक भएकाले अर्थतन्त्रमा खतराको घण्टी बजेको बताएका हुन् । विदेशी सञ्चिति लगातार घट्ने, वैदेशिक व्यापारघाटा बढ्नु, कर्जा लगानीका तुलनामा निक्षेप संकलन नहुनु, जसले गर्दा वित्तीय प्रणालीमा तरलताको संकट आयो ।

यसले गर्दा आगामी दिनमा मुलुकको अर्थतन्त्रको अवस्था निकै नाजुक हुने संकेत देखिएको पूर्वगभर्नर नेपालले बताए ।

‘अर्थतन्त्रका सूचकहरु नकारात्मक देखिएकाले मुलुकको अर्थतन्त्र गम्भीर मोडमा पुगेको छ’, उनले भने ।

पछिल्लो समय अत्याधिक आयात भएकाले चालू आर्थिक वर्षको दुई (भदौसम्म) महिनामा कुल वस्तु व्यापारघाटा ७०.८ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा व्यापारघाटा २ खर्ब ७० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, यस अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ६.३ प्रतिशतले घटेको छ । एकातिर व्यापारघाटा चुलिनु र अर्कातिर रेमिट्यान्स पनि घट्नुले अर्थतन्त्र गम्भीर मोडमा पुगेको तर सम्बन्धित निकायले चासो नलिएको नेपालले बताए ।

त्यस्तै, चालू आर्थिक वर्षको दोस्रो महिनामा चालू खाता पनि १०६ अर्ब ७५ करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २५ अर्ब १६ करोडले बचतमा रहेको थियो ।

त्यस्तै, शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमो थियो । कुल विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले घटेर १३ खर्ब ६ अर्ब ९५ करोड रुपैयाँमा सीमित भएको छ । गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड विदेशी विनिमय सञ्चिति थियो ।

सञ्चितिले अबको दुई महिनापछि आयात धान्न सक्ने अवस्था नहुने उनले बताए । अहिले ८.६ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । तर आगामी दिनहरुमा अर्थतन्त्रका सूचकहरु यसरी नै नकारात्क हुँदै गए भने ठुलो दुर्घना हुन सक्ने डा. नेपालले दाबी गरे ।

राष्ट्र बैंकले ब्याजदरमाथि गरेको हस्तक्षेले झन् असन्तुलन ल्याएको उनको तर्क छ । खुला बजार नीतिमा राष्ट्र बैंकले त्यसरी हस्तक्षेप गर्नै नमिल्ने भए पनि हस्क्षेप गरेको उनको ठहर छ ।

‘म गभर्नर हुँदा पनि ब्याजदरमा हस्तक्षेप गर्नुपर्छ भन्ने दबाब आएको थियो । तर मैले गरिन्’, उनले भने ।

नैतिक दबाब दिएर पनि ब्याजदर सन्तुलनमा ल्याउन सक्ने अवस्था थियो । तर राष्ट्र बैंके त्यसो नगरेको प्रति उनले आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?