फोहोर ढुवानीमा चरम लापरबाही : स्थानीय सरकार मुकदर्शक, जनस्वास्थ्यमा खेलबाड

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापन राज्यका लागि ठूलो चुनौतीको रूपमा रहेको छ । कहिले स्थानीयवासीको अवरोध त कहिले फोहोर व्यवस्थापन गर्ने बन्चरेडाँडामा व्यवस्थापनका लागि पर्याप्त ठाउँ नभएका कारण काठामाडौंमा फोहोरको डङ्गुर हुनेगरेको हामी सबैलाई जगजायर नै छ ।

राज्यले बन्चरेडाँडालाई डम्पिङ साइटको रूपमा विकास गर्यो । काठमाडौंको फोहोर लगेर त्यहाँ व्यवस्थापन गर्‍यो ।बन्चरेडाँडालाई डम्पिङ साइट बनाउँदा पनि वातावरण सहज भने थिएन ।

बन्चरेडाँडालाई डम्पिङ साइट बनाउन स्थानीयहरुको जग्गा अधिग्रहण गरेर सरकारले राम्रो मूल्य त दियो तर जग्गा अधिग्रहणसँगै गरेको प्रतिबद्धता भने त्यसै छन् ।

बन्चरेडाँडा आसपासका क्षेत्रको विकास निर्माण, रोजगारी, शिक्षा, स्वास्थ्यजस्ता मानवअधिकारका आधारभूत आवश्यकतासम्म सरकारले पूरा गर्न सकेको छैन ।

यसो त यी आधारभूत आवश्यकतालाई थाती राख्ने हो भने पनि अर्को जटिल समस्या हो, सडक । काठमाडौं महानगरपालिकाले व्यवस्थापन गर्दै आएको फोहोरका गाडी गुड्ने सडकको अवस्था हेर्ने हो भने झनै दयनीय छ । जताततै सडकमा खाल्डाखुल्डी छन् ।

फोहोर ढुवानीमा चरम लापरबाही

सरकारले गरेको प्रतिबद्धता पूरा मात्र नगरेको होइन, महानगरले फोहोर ढुवानीमा चरम लापरबाही गरेको स्पस्ट देख्न सकिन्छ ।

नियम र व्यवस्थालाई हेर्ने हो भने फोहोर ढुवानी गर्दा ढुवानी गर्ने सवारीले फोहोरको भागलाई छोपेर लैजानुपर्ने हो तर चरम लापरबाहीका कारण एकाध गाडीहरुमा मात्रै त्यस्तो भएको देखिन्छ भने बाँकी गाडीहरु यतिकै कुदेका हुन्छन् ।

यसरी सवारी गुड्दा गाडीबाट फोहोर सडकमा खस्ने गरेको छ । यसरीजथाभावी सडकमा फोहोर खसाउँदास्थानीयहरुलाई दुर्गन्ध फैलिएर समस्या हुनेगरेको छ ।

एक त खराब सडक त्यसैमाथि दिनहुँजसो गाडीहरुबाट खस्ने फोहोर र त्यसको दुर्गन्ध । यसले स्वास्थ्यमा समेत नकारात्मक असर गरेको स्थानीय बताउँछन् ।

स्थानीय सरकार मुकदर्शक

‘घर–घरमा सिंहदरबार पुर्याउँछौँ भन्थे तर सरकारले घरकै अगाडि फोहोरको थुप्रोचाहिँ ल्याइदियो’, तार्केश्वर नगरपालिका वाड नं ३ को नागार्जुन ठुलागाँउ माध्यामिक विद्यालका प्रधानाध्यापक अर्जुन फुँयालले आक्रोश व्यक्त गरे । प्रत्येक पटक स्थानीय सरकारसँग कुरा गर्दापनि केही नभएको गुनासो गर्छन् उनी ।

‘फोहोरका गाडी गुड्दा मात्रै पनि फोहोर गनाएर बसीनसक्नु हुन्छ । त्यसैमाथि फोहोरका गाडीहरुले फोहोर बाटोमा जताततै खसाल्दै हिँड्छन् । स्थानीय सरकारलाई कति पटक भन्ने । मिटिङमा काम अहिले नै हुन्छझैँ कुरा गर्छन् । तर भोलिपल्टबाट जस्ताको तस्तै’, उनले भने ।

फोहोर व्यवस्थापनमा भएको समस्याको बारेमा स्थानीयले धेरैपटक ध्यानाकर्षण गरेको र आफूहरुले पनि पहल गरेको तार्केश्वर वडा नं ३ का वडाध्यक्ष मनोहरी तिवारीले लोकपथलाई बताए ।

उनले भने, ‘केही दिनअघिमात्रै वातावरण विभागसँग मलगायत तारकेश्वर नगरपालिकाका मेयर, उपमेयर बसेर सम्झौता गरेका हौँ । तर कार्यान्वयन भएको छैन् । हामीले पहल गरिरहेका छौँ ।’

फोहर ढुवानीका साधनहरुको गुन्डागर्दी

फोडोर बोकेर हुइँकिने सवारीसाधनको रफ्तार हेर्दा जो–कोही त्यो बाटोमा हुन्छ उनीहरुको सातो जान्छ । फोहोर बोकेर जाने सहकमा धेरै विद्यालयहरु पर्छन् । यसरी फोहोरका गाडीहरु रफ्तारमा हुइँकिदा ठक्करका कारण धेरै स्थानीयले आफ्ना आफन्त गुमाइसकेका छन् ।

दिनमा धेरै टिप गर्ने आशामा फोहोरका गाडी रफ्तारमा हुइँकिने गरेको स्थानीयहरुको आरोप छ ।

‘मेरै स्कुलमा आउने विद्यार्थी त्यै बाटो हुँदै आउनुपर्छ । गाडीको निकै डरहुन्छ, आँखा नहेरी सवारी कुदाउँछन् । साना बालबालिकाहरुलाई भोलि केही भइहाल्यो भने ! त्यो राम्रो कुरा होइन । वातावरण प्रदूषण पनि भइरहेको छ । सडकहरुमा खाल्डाको व्यथा पनि छुट्टै छ’, प्रधानाध्यापक फुँयालले थपे ।

विश्वका अन्य देशहरुको व्यवस्था हेर्नेहो भने फोहोरलाई मोहोर बनाएका प्रशस्त उदाहरणहरु छन् । फोहोरमैला व्यवस्थापन ऐन, २०६८ ले फोहोरलाई मोहोर बनाउने अवधारणा त ल्याएको छ ।तर कार्यान्वयन भने हुन सकेको छैन ।

कुनै ठाउँको फोहोर व्यवस्थापन गर्दा अर्को ठाउँका स्थानीयलाई समस्या हुनु हुँदैन । नागरिकको स्वास्थ्यमा खेलबाड नगरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?