काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको निर्वाचन संविधानले तोकेकै समयमा हुने बताएका छन्।
बिहीवार नेकपा (एकीकृत समाजवादी) मध्यपुर थिमि नगर कमिटीले आयोजना गरेको दीपावली, नेपाल सम्वत् ११४२ र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैले चाहदैमा संघीय संसदको निर्वाचन चाडैँ नहुने बताए । उनले संघीय संसदको निर्वाचन संविधानले तोकिएकै समयमा हुने बताए । उनले राष्ट्रिय सभाको निर्वाचन र स्थानीय तहको निर्वाचन चैतमा हुने बताउँदै उक्त निर्वाचन र केन्द्र तथा प्रदेशको उपनिर्वाचनमा पाँच दलको गठबन्धन हुने र यसलाई कसैले भत्काउन तथा टुटाउन नसक्ने बताए । उनले भने – ‘कसैले भ्रम नपाले हुन्छ । आजै हुन्छकी, छिट्टै चुनाव हुन्छकी, छिट्टै चुनाव हुनेवाला छैन । संघीय संसदको चुनाव समयमै हुनेछ । त्यसको निम्ति हामी जसरी प्रत्येक काममा सफल हुँदै हिडेका छौँ । अगाडि बढेका छौँ । त्यसैगरी निर्वाचनको मैदानमा पनि विभिन्न ठाउँको आँकलन हामीले गरीरहेका छौँ । हामी जित्नेछौँ । बाँकी हामीसँग इर्ष्या गर्नेहरुको हालत खत्तम हुनेछ ।’
अध्यक्ष नेपालले केपी ओलीको दम्भकै कारण एमालेले केन्द्रिय सरकार र प्रदेश सरकारमा आफ्नो पार्टीको हैसियत गुमाउनु परेको बताए । उनले नवौं महाधिवेशनमा ओलीलाई जिताएर साथीहरुले भूल गरेको कारणले नै एमाले पार्टीको दुर्भाग्य सुरु भएको टिप्पणी गरे । एमाले पार्टीले गलत बाटो लिन थालेपछि पार्टीभित्र आफूहरु निसास्सिएर बस्नै नसक्ने अवस्था आएपछि नयाँ पार्टी खोल्न बाध्य भएको उनको भनाइ थियो ।
उनले एमाले पार्टीमा रहेका असन्तुष्टहरुलाई आफ्नो पार्टीमा फर्किएर आए स्वागत गर्ने बताए । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले नराम्रो काम गरेमा तत्काल कारवाही गरी मन्त्री पदबाट हटाउने पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया