काठमाडौं- गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले सामाजिक न्यायबिना देशको आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने बताएका छन्।
पोखरा–२२ स्थित युवाज्योति उकाला टोल विकास संस्थाको आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उनले समाजको विकासका लागि सामाजिक न्याय अपरिहार्य भएको बताएका हुन् । “हामीले अझै पनि सामाजिक न्याय दिन सकेका छैनौं, सबै प्रकारका नागरिक सामाजिक हिसाबले सम्मानित छन् तर हामीले सामाजिक न्याय अझै पनि दिन नसक्दा विकास निर्माणले गति लिन सकेको छैन्, उनले भने, “समाजवाद उन्मुख सङ्घीय लोकतान्तिक गणतन्त्र प्रणालीको रक्षा गर्ने प्रमुख दायित्व नेकपा (माओवादी केन्द्र) को हो ।” मन्त्री बरालले देशमा अझै पनि राष्ट्रिय एकताको जरुरी रहेको बताउँदै माओवादी केन्द्रले मुलुकका राजनीतिक दलबीच सहकार्य गरेर अघि बढ्न चाहेको उल्लेख गर्नुभयो यसैगरी टोलरत्न सम्मानबाट प्राध्यापक डा ओमप्रसाद बराल सम्मानित भएका छन् ।
स्वास्थ्य शिक्षा विषयमा विधावारिधिसहित शैक्षिक क्षेत्रको उत्कृष्ट उपाधि हासिल गरी विश्वविद्यालय सेवामा पु-याउनु भएको योगदानको उच्च कदर गर्दै संस्थाले उनलाई सम्मान गरेको हो । पोखरा–२२ का वडाध्यक्ष मित्रलाल बरालले जनताको हाल धेरै अपेक्षा सडक बाटो नै भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न मन्त्री समक्ष आग्रह गरे ।
पुम्दीकोट टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त बरालले पुम्दीकोटमा निर्माण हुने गरेको विशाल महादेवको मूर्ति निर्माणको क्रममा रु तीन करोड ऋण भएकाले पुनःमहायज्ञ लगाउने गृहकार्य भइरहेको जानकारी दिए । टोल विकास संस्थाका अध्यक्ष बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस पोखरा–२२ का वडा कमिटी सभापति होमप्रसाद बराल, (माओवादी) केन्द्र पोखरा– २२ का वडा कमिटी अध्यक्ष चण्डीकाप्रसाद बराल र पोखरा– २२ का इन्चार्ज त्रिभुवन पौडेल, नेकपा (एकीकृत समाजवादी) पार्टी पोखरा–२२ का अध्यक्ष जगन्नाथ बाँस्तोला, तिलाहार, खाडेखोला टोल विकास संस्थाका अध्यक्ष हिमलाल बराल, संस्थाका कानूनी सल्लाहकार भीमनाथ बराल, उपाध्यक्ष अर्जुन बराल, सचिव लोकनाथ बराललगायले टोल विकास संस्थाको महत्व र गर्नुपर्ने भूमिकाका बारेमा चर्चा गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया