यस कारण गुमायो भारतीय फिल्मले नेपाली बजार

काठमाडौं । गत वर्ष चलचित्र ‘बाहुबली २’ ले नेपाली फिल्मको व्यापार खोस्यो । यो फिल्म हलमा रिलिज भएपछि त्यतिबेला चर्चामा रहेका चलचित्रले पनि राम्रो व्यापार गर्न सकेनन् । फिल्मले नेपाली फिल्मको व्यापारलाई प्रभावित पार्यो ।

त्यतिबेला ‘बाहुबली २’ मा अल्झिएको कटप्पाले बाहुबलीलाई किन मार्यो भन्ने प्रश्नले गर्दा पनि फिल्म बहुप्रतिक्षित बनेको थियो नेपालमा समेत ।

उक्त फिल्मले त नेपाली बजारलाई प्रत्यक्ष असर पार्यो  । त्यसपछिभने नेपाली सिनेमाको बजारलाई पूर्णत प्रभाव पार्ने फिल्म अरु बन्न सकेनन् । भारतीय फिल्म उद्योगका ठूला ब्यानरका फिल्मसँग पनि नेपाली फिल्मकर्मीले सहजै फिल्म जुधाउन थालेका छन् आजभोलि । कुनै एक समयमा नेपालमा भारतीय फिल्मको वर्चस्व थियो । तर त्यो ट्रेन्ड बिस्तारै नेपाली फिल्मतिर ढल्किँदै गएको छ । हप्तैपिच्छे रिलिज हुने नेपाली फिल्मका कारण फिल्मको हाइप केही घटेपनि नेपाली फिल्म हेर्ने दर्शक बढेको फिल्मकर्मी बताउँछन् ।

०७२ सालमा गएको भूकम्प र त्यसको केही समयमा नै राजनैतिक अस्थिरता उत्पन्न हुँदा भारतले ६ महिनासम्म लगाएको नाकाबन्दीले धेरै नेपालीमा भारत विरोध धारणा बन्दै जानुले पनि नेपाली चलचित्रले बजार विकसित गर्ने मौका पाएको बताइन्छ ।

तर, बुद्धि तामाङ भने यो कुरामा सहमति जनाउँदैनन् । नेपाली फिल्मका दर्शक बढेको त उनले पनि भेउ पाएका छन् । तर, फिल्मले उठाउन थालेको मौलिकताका कथाले फिल्मको बजार फस्टाउँदै गएको उनी बताउँछन् । ‘भारतको नाकाबन्दीले नेपाली फिल्मको बजार बढेको भन्ने त लाग्दैन, तर केही असर भने परेको होला, सबैलाई मन पर्ने खालको फिल्म बनायो भने फिल्म चल्दो रहेछ, दर्शक बढेको पक्कै हो ।’, उनी भन्छन् ।

अर्का निर्माता तथा अभिनेता नबल खड्काले भने नेपाली फिल्ममा जागा बसेका माफियाले नै हिन्दी फिल्मलाई प्रोत्साहन गरेको बताउँछन् । भारतको नाकाबन्दीपछि आम दर्शकको मनोविज्ञान नै भारत विरोधी हुँदा दर्शकले हिन्दी फिल्मलाई बहिष्कार गरेको उनको धारणा छ । ‘नेपाली फिल्म हेर्ने दर्शक पहिले पनि हुनुहुन्थ्यो, तर यहाँ केही हिन्दी फिल्म चलाउने माफियाहरुले हिन्दी फिल्म राम्रा हलमा देखाउँथे, दर्शकले चाहेर पनि नेपाली फिल्म हेर्न पाउनुहुँदैनथ्यो’, उनी भन्छन्, ‘फिल्म पनि एउटा आदत हो, चुरोट नखाने मान्छेलाई चुरोट खाने बानी पारेझैं नेपाली फिल्मका दर्शकलाई पनि आफ्नै घरेलु फिल्म हेर्ने बानी पार्न सकिन्छ ।’

त्यसो त फिल्म ‘लूट’, ‘पशुपतिप्रसाद’ लगायतका चलचित्रले दिन खोजेको नौलोपन र थिएटरका कलाकार नेपाली फिल्ममा उदाउनुलाई पनि फिल्म हेर्ने दर्शक बढ्नुका कारणका रुपमा लिइन्छ ।

काठमाडौंका सुविधासम्पन्न मल्टिप्लेक्समा हिन्दी तथा अंग्रेजी फिल्म र सामान्य हलमा नेपाली फिल्म प्रदर्शन हुने प्रवृत्ति अहिले भने छैन ।

नेपाली फिल्म र कलाकारलाई दर्शकले पत्याउन थालेका छन् । अहिले जुनसुकै मल्टिेप्लेक्स हलमा कुनै न कुनै नेपाली सिनेमा चलिरहेका छन् । 

तर, नाकाबन्दीले फिल्म हेर्ने दर्शकलाई नेपाली फिल्म हेर्ने बानी भने पारेको धेरैले बताउँदै आएको छ । यतिसम्म कि, नाकाबन्दी पछि दर्शकले हिन्दी गीत समेत सुन्न छोडेका छन् । भारतीय टेलि–श्रङ्खलाको जुन क्रेज हुन्थ्यो, त्यो पनि सुकेको छ नेपालमा ।

यसको असर भारतलाई नै परेको छ । किनकि, भारतले आफ्नो बजारको ठूलो हिस्सालाई नाकाबन्दीकै कारणले गुमाएको छ ।

वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहले नाकाबन्दीपछि फिल्मको बजार बढेको स्वीकार्छन् । नाकाबन्दी अघि भारतीय फिल्मको बजार जुन रुपमा थियो, त्यसका आधारमा हेर्दा पछिल्लो समय भारतीय फिल्मको बजार घटेको र नेपाली फिल्मको बजार तानिँदै गएको शाह बताउँछन् । ‘पहिले नेपाल पनि भारतीय फिल्मको ठूलो बजार थियो, नाकाबन्दी पछि भारतीय फिल्मको बजार घटेको छ, नेपाली फिल्मले आफ्नो बजार बढाउने मौका पाएका छन्’, नीर शाह अगाडि थप्छन्, ‘नाकाबन्दी लगत्तै दर्शकले नेपाली सिनेमा हेर्न थाल्नुभयो, त्यसको ह्याङओभरले अहिले नेपाली दर्शक बढेका पक्कै हुन् ।’

पूरैजसो भारतीय फिल्म भएको नेपाली फिल्म बजारमा अहिले झण्डै आधा नेपाली फिल्मले ओगटेको उनी बताउँछन् ।

नेपाली फिल्मका दर्शक बढिरहेका बेला यदि राम्रा फिल्म बनाउन सकियो भने नेपाली फिल्मले कमसेकम घरेलु दर्शकको मन जित्ने र पछि फिल्म बजार फस्टाउँदै जाने पक्का छ । यदि उस्तै फिल्ममा चलचित्र उद्योग अल्झियो भने फिल्मका दर्शक फेरि विदेशी फिल्मतिर फर्कनेमा दुई मत छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?