आजदेखि प्रदेश ५ संसदको दोस्रो अधिवेशन सुरु

बुटवल । पहिलो अधिवेशन अन्त्य भएको ५ दिनपछि प्रदेश ५ संसदको दोस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । 

सोमबार प्रदेश ५ को प्रदेशसभा सचिवालयले अपराह्न १ बजेको लागि दोस्रो अधिवेशनको पहिलो बैठक बोलाएको जानकारी दिएको छ  । 

बैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी विधेयक पेश हुने कार्यसूची छ । विधायन समितिले सुविधासम्बन्धी विधेयकको प्रतिवेदन बुझाएपछि निर्णयार्थ पेश हुन लागेको हो ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरलले आव ०७५–७६ का लागि तयार गर्न विनियोजन विधेयक ०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिका प्रस्तावहरु आजको बैठकमा पेश गर्नेछन् । 

समय निर्धारण गरी विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल शुरु हुने कार्यसूची रहेकोे प्रदेशसभा सचिव मानबहादुर विकले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?