कामना सेवा विकास बैंकको १९.४७ प्रतिशत लाभांश साधारणसभाबाट पारित

लोकपथ
77
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको १५औं वार्षिक सभा कार्तिक २३ गते मंगलबार काठमाडौं बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१ रुपैयाँको १८.५० रुपैयाँ प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.९७ प्रतिशत समेत गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

बैंकले आ.व. २०७८/०७९ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक पी.के.एफटि आर उपाध्याय एण्ड कम्पनीलाई नियुक्ति गरेको छ ।

उक्त सभामा बैंकका अध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७७/०७८को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७८/०७९ को असोज मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्य योजना प्रस्तुत गरेका थिए ।

उनले कोभिडको प्रभाव कम हुँदै गई आर्थिक गतिविधिहरु सामान्य अवस्थामा चलायमान हुँदै गएको हुनाले शाखा सञ्जाल, बैंकिङ कारोबारको संख्यामा भएको उल्लेख्य वृद्धि, कर्जा तथा निक्षेपमा भएको वृद्धि आदिको कारण समीक्ष वर्षमा राम्रो प्रतिफल प्रदान गर्न सफल भएको र आगामी दिनमा अझै राम्रो प्रतिफल प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दै बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताए ।

संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन कार्यक्रम समेत रहेको साधारणसभाबाट संस्थापक समूहबाट सुदिप आचार्य, भिम प्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधरण समूहतर्फबाट देवकृष्ण काफ्ले, विश्वेश्वर सुवेदी र बलराम बराल निर्विरोध निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?