काठमाडौँ- बैदेशीक रोजगारका लागि खाडी पठाएको छोरोलाई दलालले वेचिदियोे, भन्दै केही दिनअघि पीडित युवकका आफन्तहरु उजुरी लिएर टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालयमा पुगे । तर, प्रहरीले युवक बेचिएको उजुरीप्रति आश्चार्य मान्दै ‘नचाहिने कुरो’ पुरुष पनि बेचिन्छ र ? भन्दै उजुरी लिन आनाकानी गर्यो ।
पीडितहरुको उजुरी सुन्ने ती प्रहरी अधिकारीले हाँस्दै भने– छोराको उमेर कति भयो ? जवाफ आयो २० वर्ष । परिसर प्रहरीले उनीहरुलाई कानुनी कारवाहीका लागि बैदेशीक रोजगार विभागको कार्यालय जान आग्रह गरे । तर, उनीहरु तत्कालै महानगरीय प्रहरी अपराध महाशाखाको बैदेशीक रोजगार तथा मानव वेचविखन पिलरमा पुगे ।
महाशाखाले पीडितका आफन्तहरुको उजुरी स्वीकार गरी कारवाही अगाडि बढायो । पीडितहरुले उजुरी दिएको महिना दिन नपुग्दै महाशाखा प्रहरीले ती युवकलाई बैदेशीक रोजगारीका नाममा खाडीमा वेच्ने दलाललाई पक्राउ गरी फिर्ता बोलाउन पहल शुरु गर्यो ।
बेचिएका भनिएका युवालाई अन्तत खाडीबाट नभइ भारतबाट उद्धार गरी काठमाडौं ल्याइ पुर्याउने कार्य अगाडि बढी रहेको छ । प्रहरीका अनुसार, महिला भन्दा पुरुष विक्री गर्ने समस्या बढेको छ । नेपाली समाजमा मानव वेचविखनप्रतिको बुझाइ गलत भएका कारण पुरुष मान्छे बेचिदैन भन्ने भ्रम देखिएको छ ।
बैदेशीक रोजगार सम्वन्धी म्यानपावर कम्पनीले नै नेपाली युवाहरुलाई खाडीको श्रम वजारमा पशु जस्तै विक्री गर्ने गरेको आरोप प्रहरीको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र उप्रेति भन्छन–‘पुरुष मान्छे आफू बेचिएको कुरा खुलेर पनि भन्न लजाउछन् ।’
मानव वेचविखन तथा ओसारपसार ऐन–२०६४ ले पनि ललाई फकाइ, जालसाजी वा जवरजस्ती गरी वा डरधम्की देखाइ कुनै पनि ब्यक्तिलाई एकठाँउबाट अर्को ठाँउमा लैजाने कार्यलाई मानव बेचविखन तथा ओसारपसारको परिभाषाभित्र राखेको छ । उल्लेखित घटना र ऐनको परिभाषाबाट देहब्यापारका लागि महिलामात्र बेचविखन हुन्छन भन्ने भ्रम हटाइ दिएको छ ।
‘राम्रो काम र आकर्षक तलवको लोभ देखाइ म्यानपावर कम्पनी तथा दलालहरुले युवाहरुलाई बैदेशीक रोजगारमा पठाउछन् । तर, त्यहाँ पुगेपछि लोभ देखाए जस्तो काम र तलव दिदैनन् । पीडित युवकहरु कम्पनी र दलाल ब्यक्तिका विरुद्ध प्रस्तुत हुन पनि सक्दैन्न । पशु सरह नाटकीय जीवन जिउन बाध्य हुन्छन । दलालहरुको निर्देशन अनुसार, एकठाँउबाट अर्को ठाँउमा स्थान्तरण गर्ने, एउटा कोठामा बन्दी बनाएर कुटपिट गर्ने, यातना दिने र अफ्ठयारो काममा घोटाउने गर्छन ।
यतिसम्मकी नेपाली युवालाई नोकरर दासको रुपमा एक कम्पनीले अर्को कम्पनीमा तलव भत्ता लगायतका कुनै किसिमको सेवा सुविधा समेत नपाउने गरी विक्री गर्ने गरेको पीडा पीडितले पाखेका छन् । तलव नै नलिने गरी कामदार मिलाइ दिए वापत दलाल कम्पनीहरुले प्रतिब्यक्ति २५ सय रियालसम्म ‘कमिसन’ लिने गरेको पाइएको छ । बैदेशीक रोजगार विभागमा परेका उजुरीहरु अध्ययन गर्दा– तलव नै नदिएर काम लगाएको घटना दर्जनौ छन् ।
यस्तो समस्या विगतमा मलेसियामा बढी थियो । तर, पछिल्लो डेढ/दुईवर्षयता साउदी र कतारमा बढी देखिएको छ । उजुरी गर्न आउनेहरुमा यी दुई देशमा गएका युवा युवतीहरु बढी छन् । तलव, भत्ता लगायतका सेवासुविधाहरु आकर्षक देखाइ ग्रामीणक्षेत्रका दलालहरुले काठमाडौंसम्म पुर्याउने, काठमाडौंका दलालहरुले म्यानपावर कम्पनीसम्म लैजाने र म्यानपावरका दलालहरुले विदेशसम्म पुर्याउने गर्छन ।
गाँउघरको एक सामान्य र गरिव परिवारको छोरा–छोरी विदेश पुग्दासम्म वेचिइसकेको हुन्छ । बैदेशीक रोजगारमा जाने एकजना खोजेबापत यताका एजेण्टहरुले प्रतिब्यक्ति डेढलाख रुपियाँ उठाउने गर्छन । त्यसपछि उताका एजेण्टहरुले कामदारको रुपमा नभइ नोकरको रुपमा कमिसन खाएर एक कम्पनीबाट अर्को कम्पनीलाई निशुल्क रुपमा ‘ट्रान्सफर’ गरी काममा घोटाउछन् ।
अपराध महाशाखाले करीव डेढ वर्षको अवधिमा १५सय जनाको उद्धार गरेको छ । ती मध्ये महिला भन्दा पुरुषको संख्या बढी छ । उजुरी गर्नेहरुले ठगिएको बताएपनि यो एक किसिमको मानव वेचविखन तथा ओसारपसार नै हो । बैदेशीक रोजगारीका नाममा ठगीमा परेकाहरु मध्ये एकहजार ७९ जना पुरुष र अन्य महिलाको उद्धार गरि नेपाल पुर्याइएको महाशाखाले जनाएको छ । ती मध्ये करीव ७० वटामा मानव वेचविखन तथा ओसार पसार सम्वन्धी मुद्धा चलाइएको छ ।
महाशाखाको तथ्याङकका अनुसार–यो आर्थिक वर्षमा बैदेशीक रोजगारीका नाममा आफू ठगिएको र मानव वेचविखन तथा ओसार पसार गरेको भन्दै उजुरी गर्नेहरुको संख्या तीनहजार सातसय २४ पुगेको छ । ती अपराधमा संलग्न रहेको अभियोगमा ३५ जना दलाललाई पक्राउ गरी कानुनी कारवाही गरिएको छ । साथै बैदेशीक रोजगारीका नाममा मानव वेचविखन गर्ने म्यानपावर कम्पनी विरुद्ध छसय ८० जनाले उजुरी दिएका छन् । ती कम्पनीहरु मध्ये दुईसय ५६ वटालाई कारवाही र एकसय ८४ जना एजेण्टलाई कानुनी कारवाहीको दायरामा ल्याइएको महाशाखाले जनाएको छ ।
महिलाभन्दा पुरुषलाई बेचविखन गर्न सहज
मानव तस्करहरुले बेचविखन तथा ओसार पसारका लागि महिला भन्दा पुरुषलाई सहज र सुरक्षित रुपमा लिने गरेका छन् । विशेष गरी महिलाहरुप्रति शंका उपशंका गर्नुका साथै महिला बेचविखन गरेको खण्डमा कानुन तत्काल आकर्षित हुने भएकाले उनीहरुले विकल्पको रुपमा पुरुषलाई छनोट गरेका हुन ।
मानव बेचविखन विरुद्धको अभियानमा सक्रिय प्रहरी उपरीक्षक किरण बज्राचार्यका अनुसार, बैदेशीक रोजगारीका कारण अहिले महिला भन्दा पुरुषको बेचविखन बढी भइरहेको छ । हाम्रो बुझाइमा महिलाहरु देहब्यापारका लागि बेचविखन हुन्छन् भन्ने छ । तर, पछिल्लो समय महिलाको तुलनामा पुरुष बेचिएको घटना धेरै छन् ।
पुरुषलाई श्रम शोषण गर्नदेखि नोकर बनाउन, शरीरको अंगहरु झिक्न र अप्राकृतिक सम्वन्ध कायम गर्न पनि बेचविखन हुने गरेको घटनाहरु छन् । मानव बेचविखनमा संलग्न अपराधिक समूहका लागि महिला बहुउपयोगी भएपनि पुरुष बहुगुणी हुने गरेका छन् ।
मानव बेचविखन तथा ओसार पसार अन्तराष्ट्रिय अपराधिको संलग्नतामा हुने संगठित अपराध हो । उनका अनुसार, यस्को नियन्त्रणका लागि संयुक्त प्रयास जरुरी हुन्छ । सिएनएन हिरोको समेत उपाधि जित्न सफल एस्पी बज्रचार्य भन्छन– मानव बेचविखन तथा ओसार पसारको ‘ट्रेन्ड’ नै परिवर्तन भएको छ । महिलाको हकमा कलाकार र खेलाडी भन्ने तीन महिनाको भ्रमण भिषा लगाएर कतिपयलाई सिधै त्रिभुवन विमानस्थलबाट अन्य मुलुक लैजाने गर्छन ।
कतिपयलाई स्थलमार्ग प्रयोग गरी भारतको दिल्ली, राजीस्थान त्यहाँबाट श्रीलङकाको कोलम्बो, काठमाडौं–बैंकक पुर्याइ त्यहाँबाट खाडी तथा अफ्रिकन मुलुकहरुमा पुर्याइन्छ । जहाँ नेपाली महिलालाई कामदारको रुपमा नभइ यौनदाशीको रुपमा मात्र प्रयोग गरिन्छ । यी सबै काममा नेपाली दलालहरुको संलग्नता नै बढी देखिन्छ उनले भने । विगतमा भारतसंगमात्र रहेको नेपाली चेलिवेटी वेचविखनको गन्तब्य खाडी र अफ्रिकन मुलुकहरुसम्म झन फराकिलो बन्दै गएको छ ।
किड्नीका लागि पुरुषको वेचविखन
त्यस्तै, मानव शरीर अंगहरु विक्री वितरणका लागि भारत नजिकको गन्तब्य बन्दै गएको छ । आर्थिक रुपले कमजोर, मजदुर र गरीवलाई ललाई फकाइ किड्नी र स्कीन विक्री गर्न लगाउने फकाउदा पनि नमानेको खण्डमा वेहोस पारी लठ्याएर भारत पुर्याउने दलालहरुको समूह नेपालमा सक्रिय रहेको छ । काभ्रे र सिन्धुपाल्चोकबाट मात्र करीव तीनसय जनाको किड्नी गायव गरिएको छ ।
काभ्रे र सिन्धुपाल्चोकको यो घटना राज्यले नै गम्भीर रुपमा लिइ त्यसका विरुद्ध अभियान नै चलाएपछि तस्करहरु अन्यक्षेत्रमा सक्रिय हुन थालेका छन् । काठमाडौं, गोरखा, धादिङ बर्दिया र बैतडीसम्म मानव अंग तस्करहरुको जालो फैलिएको छ । एउटा किड्नी विक्री गर्दा कुनै फरक नपर्ने भन्दै आफूले समेत किड्नी विक्री गरी लाखौं रुपियाँ कमाएको सपना बाड्ने समूह विरुद्ध सर्वसाधारण नै सचेत हुनु पर्ने अधिकारकर्मी बताउछन् ।
यस्तो संगठित अपराधमा संलग्न अभियुक्तहरु लुकिछिपि हिड्ने र त्यसमाथि किड्नी विक्री गर्ने घटनामा श्रीमती, बुबा, छोरो, भाइ भतिजा र दाजु नाता पर्ने नजिकको ब्यक्तिलाई प्रयोग गर्ने भएकाले कानुनी उपचार खोज्दा आफन्त नै मुछिने भएकाले न्याय समेत पाउदैन्न । यतिसम्म की श्रीमानको किड्नी विक्री गर्न श्रीमतीलाई समेत संगै भारत लैजाने ब्यवस्था मिलाइ दिने गर्छन । एक लाखमा किड्नी विक्री भएमा ५० पीडितको आफन्तलाई र ५० हजार आफू राख्ने गर्छन ।
किड्नीको कारोवार नेपाल भित्र समेत हुने गरेको पाइएको छ । यतिसम्मकी नाता नै नपर्ने ब्यक्तिलाई नाता कायम गरी, नक्कली नागरिता समेत बनाइ किड्नी विक्री गर्न लगाउने गिरोह काठमाडौंमा सक्रिय रहेको छ । एक वर्षअघि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सक्रिय यस्तो गिरोहलाई त्यहाँका चिकित्सकहरुको सहयोगमा प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको थियो ।
कानुनी कारवाहीमा बुझाइको अभाव
मानव बेचविखन तथा ओसार पसार र मानव शरीर अंग बेचविखनका विषयमा प्रहरी, पत्रकार, कानुन ब्यवसायी र न्यायकर्मीहरुबीच बुझाइ कमजोर भएकाले पीडितहरुले न्याय पाउनु त परै उजुरी नै दर्ता हुदैन । मानव बेचविखन मुद्धा फौजादारी मुद्धा अन्तरगत सरकारवादी मुद्धा हो । कुनै पुरुष म बेचिए भन्दै उजुरी दिन गयो भने प्रहरीले उजुरी नै नलिने अवस्थामा छ ।
त्यस्तैं, किड्नी झिकिदियो भन्दै स्वयम ब्यक्ति नै उपस्थित भएपनि प्रहरीले तत्काल अपराधिलाई पक्राउ गरी आवश्यक कारवाही गर्छ र न्यायालयले न्याय दिन्छ भन्नेमा ढुक्क हुनु पर्ने अवस्था छैन । यसका लागि स्वयम सर्वसाधारण सचेत हुन आवश्यक छ । यसका लागि सरकारी तथा गैरसरकारी संघ संस्थाका अतिरिक्त सम्वद्ध अधिकारी सचेत भइ लाग्नुपर्ने देखिन्छ ।
प्रहरीले बैदेशीक रोजगारीका नाममा विभिन्न प्रलोभनमा पारी, प्रपन्च रची, एकठाँउबाट अर्कोठाँउमा लगिइने कार्य ठगी नभइ मानव वेचविखन तथा ओसारपसार भएकाले ठगीमा नभइ मानव वेचविखन र ओसारपसारमा उजुरी लिएर आउन आग्रह गरेको छ ।
तर, बैदेशीक रोजगार ब्यवसायी ऐनले जे सुकै भनेपनि म्यानपावर कम्पनीबाट हुने अपराध ठगीमात्र भएको दावी गर्दै आएका छन् । भन्नेहरुले त म्यानपावर कम्पनी सञ्चानलकहरुलाई मानव तस्कर पनि भन्छन–तर सबै त्यस्तो हुदैनन् । दोषीहरुलाई कारवाही गर्नु पर्छ बैदेशीक रोजगार ब्यवसायी संघका पूर्वअध्यक्ष विमल ढकालले भने ।
सीपको अभावसंगै सस्तो श्रमका कारण सास्ती
नेपाली कामदारहरु अन्य देशका श्रमिकहरुको तुलनामा सस्तो श्रममा काम गर्न तयार हुने गरेका छन् । बैदेशीक रोजगार ब्यवसायी संघका अनुसार, विदेश भन्ने वित्तिकै रुखमा पात फले झै पैसा फल्छ भन्ने भ्रमका कारण यस्तो समस्या देखिएको हो । घरमा खाना पकाएर खान नजान्नेहरु, शुद्धसंग आफ्नो नाम नै लेख्न नजान्नेहरु विदेशको रहर गर्छन जस्ले उनीहरुलाई कमजोर श्रमिकमा रुपमा परिणत गर्छ । नराम्रोसंग दुख पाउछन् ।
नेपाली महिला/पुरुषको वेचविखन यस कारण हुन्छ ?
महिला विक्री हुनुको मुख्य कारण– देहब्यापार, यौन सन्तुष्टि र घरेलु कामदार,
महिलाको कुन शरीर अंग विक्री हुन्छ– दुध(वेवी मिल्क), पाठ्यघर, छाला र भाडाको कोख
पुरुष विक्री हुनुको मुख्य कारण– नोकर–चाकर, किड्नी झिक्न, अप्राकृतिक यौन सम्वन्ध राख्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया