हाम्रो यात्रा र सीमा बिहिन झिंगाहरु

थकानले साबिकका दिन भन्दा ढिलो उठियो । 

म उठ्दा साथीहरु कोहि उठेका थिएनन् । 

विहानको मधुरमय शितलतामा आँगन गएँ । एकछिन् घुमेँ । थकित जीउ तन्काएँ । अझै कोहि उठे छैनन् । 

घाम झुल्कियो । मैले बोलाएँ । यतिबेला घामसँगै सबै साथी उठे ।

मेघराज खड्का , मनिष खड्का , हिमाल बुढा र म ज्ञानदेवी पुनको होटलमा पस्याैँ । कफि मगायाैँ ।

मलाई कालो कफि है ! – मनिषले भने । 

दूधको नपिउने ? – मेरो प्रश्न तेर्सियो ।उनले दूध कफि नपिउने जनाए । 

हामी चाहिँ दूध कफि पियाैँ । कफि पिउँदै गर्दा वरपर झिँगा भन्किरहेका थिए । झिँगा धपाउँदै कफि पिउँदै गफियाैँ । 

" बाइकमा आउन साह्रै गाह्राे रै'छ । कहिले नआएको । त्यहिमाथि बाइक चलाउन सिकेको पनि भर्खर भर्खर हो । काक्रीबाट आउँदा आउँदै रात पर्‍यो । झन जङ्गलको बाटो । बाघ आउँछ कि भन्ने डर । बाटो नचिनेको । थाकेर चूर भईयो । " कफिको चुस्कि लिँदै मनिषले भने । 

"बाटो यति अप्ठेरो थियो कि धाै धाै आइयो । मनिष सानो मान्छे अगाडि , म ७० किलोको मान्छे पछाडि बसेको ; १० किलो जति झोला थियो । कम्तीमा ८० किलोको भारीले उनलाई असहज भैरहेको थियो । कम्ता दु:ख त भएन । कुनै ठाउँमा त म हिँडे पनि ।" – मेघराजको दुखेसो थियो । 

"तपाईंहरूले काक्रीबाट कोल आउन कति लाग्छ ? अबेर हुन्छ कि नाई ? भनेर सोध्दा मैले घडि नै हेरिन । म आफै मैकोटबाट आउँदा लखतरान परेर हिँड्नै नसक्ने भएको थिएँ । समय भए जस्तो लागेको थियो । हिमालले पनि आउन सक्छन् भन्यो । तपाईंहरुलाई आउन सकिन्छ भनेर भनेँ । पछि घडि हेर्दा पो समय गैसकेछ भन्ने लाग्यो । घडिको सुई साँझको सात बज्न लागेको थियो । यो बेला दिन लम्बिएकोले सात बजे पनि उज्यालै थियो । म झक्किनुले तपाईहरुलाई दु:ख भो ।" मैले अझ थपेँ – "तर ठिक छ । रात विरात हिड्दा , भोक प्यासमा हिंड्दा , उकाली ओराली हिँड्नु पर्दा ; यहाँका मान्छेले कस्तो सकस बेहोर्नु पर्दो रहेछ । अनुभव त गर्नु भो नि हैन !" 

"अनुभव त भयो सर ! तर थकाईले लखतरान भईयो । तर हाम्रो कमजोरीले हो । अबेला हिँडियो ।" – मनिषले कफि पिउँदै बोले । 

गर्मी महिना । झिँगाको बिगबिगी विचित्रको छ । कपको वरपर झिँगा सम्हाल्न गाह्रो जस्तै ।

"खलंगाबाट १ बजेतिर हिँड्याैँ । रुकुमकोटमा धेरै बस्याैँ । हाम्रो प्लान काक्रीमा बास बस्नु थियो ।" मेघराजले ढिलो आउनुको रहस्य खोले ।

कफि पिएर होटेलकै अघिल्तिरको घरको छानामा बस्याैँ । गफमा लीन थियाैँ । 

वरिपरि सबै घरका छतमा माटोको ढलान भएको देखेर अचम्भित खड्काद्वय मेघराज र मनिषले भने – "सबै घर यस्तै हुन् ?"

"ढुङ्गे घर , टीनको घर र सिमेन्टको घर बाहेक बाँकी सबै घर यस्तै हुन् । माटोको घर भए पनि तीन पुस्तालाई धान्न सक्छ ।" – मैले स्पष्टीकरण दिएँ – "गाउँघरको छाना वा छत माटोले छाए पनि जतिसुकै घनघोर बर्षाले पनि चुहिँदैन । मुसाले खोलेन र माटो भरपुर भयो भने यो घर पनि सिमेन्ट जतिकै पक्का हुन्छ । घरहरु नचुहिनलाई सेतो कमेरो माटो निकै उपयुुक्त हुने गर्छ ।"

खड्काद्वयले प्रत्येक घरतिर नजर लाउँदै गए । 

होटेल मालिक्नी ज्ञानदेवीकी छोरीले ओखर खेलाएको देखेछन् मनिषले । "यतातिरको ओखर कस्तो हुन्छ ? ढाँते ओखर कि फोर्ने खालको ?" उनले चाख लगाए ।

"फोर्ने ओखर हो ।" – मैले भनेँ ।

गफै घपमा उनले ओखरको बारे हल्का चाख देखाए । मैले ज्ञानदेवीकि छोरीलाई दुईचार वटा मागेँ । उनकी छोरीले आफुले खेल्दै गरेको ओखर दिइन् चार ओटा । 

घरको छतमा माटोको ढलान छ । माटोले ढलान गरिएको छेउमा पानी तैरिनलाई पाटुलो छाना बनाइएको छ । पाट्लो ढुङ्गालाई गह्रौं र लामा ढुङ्गोले थिचिएका छन् । हामी यहि ढुङ्गोमा ओखर फोर्दै खायाैँ । 

नानीले फेरि ओखर थपि दिए । 

"हाम्रोतिर त एकदम सानो हुन्छ ओखर" – मनिषले भने । उनले थपे – "सानो मात्र हैन चाम्रो पनि हुन्छ । यहाँ त गजब हुने रहेछ । हाम्रोतिरको त फोर्न पनि गाह्रो !"

ढाँते ओखरको कुरा हैन यो । फोरेर खाने ओखरको कुरा चल्दैछ । 

"हाम्रोतिर पनि यस्तै ठूलो खालको हुन्छ । यो भन्दा आकारमा अझ ठूला पनि हुन्छन् ।" – मैँले थपेँ ।

"हो है !" – मनिषले भने ।

"ओखरको बुटा देखिन नि मैले" – मनिषले पर पर आँखा डुलाएर भन्यो ।

"ऊ मास्तिर छ त !" – मेघराजले आैंल्याउँदै भने ।

"हो त , त्यहीँ रहेछ नि !" – मैले भनेँ ।

"हाम्रोतिर त ओखरका ठूला-ठूला बुटा हुन्छ नि , यहाँको बुटा सानातिना हुन्छ कि क्या हो ?" – मनिष खड्काले देखिएको ओखरको बुटालाई हेर्दै भने ।

"ऊ तेत्रो छ त ! ह्याँबाट पो सानो देखिएको बड्डा !" – मेघराजले स्पष्टीकरण दिए ।

"हो नि ! कति ठूला हुन्छन् कति" – मैले थपेँ ।

"ओखर त जहाँ पनि हुँदो रहेछ है !" – मनिषको ओठबाट जिज्ञासा पोखियो ।

"वातावरण सुहाउँदो ठाउँमा हुँदो हो !" – मेरो ओठबाट अनायास शब्द कोरलियो । 

ओखर फोर्दै खाँदै स्वादमा गफियाैँ। स्वादमा हरायाैँ । 

मोबाइलको क्यामेरा अन गरेर मेघराज खड्काले मलाई दिए । उनले ओखर फोर्दै खाएको विभिन्न पोजमा खिचेँ । क्लिक ! क्लिक !! 

"तपाईंको घरतिर दाँते ओखर पाइन्छ ?" – मनिषले मतिर फर्केर भने । 

"मैकोटको राँजारीतिर पाइन्छ भन्ने सुनेको छु । म चाहिँ गएको छैन ।" – मैले भनेँ । 

"हाम्रो गाउँतिर पनि हुन्छ ।" – हिमाल बोले ।

ओखर फोरेर खाँदै गर्दा त्यहाँ पनि वरिपरि झिँगा देखिए । कफि पिउँदै गर्दाताका देखि झिँगाले हाम्रो ध्यान केन्द्रित गर्दै थिए । आहा सञ्चारका प्रकाशक/सम्पादक मेघराजले तिनै झिँगालाई इङ्कित गर्दै भने – "अमेरिकातिर झिँगा पाईँदा हुन् कि नाईँ ?"

हाहाहा…….. शान्त वातावरणमा हाँसोको विस्फोट भयो ।

"किन नपाईँदा हुन् र !" – रेडियो सानी भेरीका समाचार प्रमुख मनिष खड्काले प्रतिउत्तर दिए । 

"एउटा चासोको बिषय , के संसारभर झिँगा पाईँदा हुन् र ? नपाइन पनि त सक्छन् ।" – खड्का मेघराज जिज्ञासु बने । आखिर पत्रकारहरु जिज्ञासु हुने नै भए ।

"संसारभर नपाईँदा हुन् त अनाैठो समाचार पढ्थ्याैँ होला नि मेघराज जी !" – अकस्मात मेरो ओठबाट शब्द झर्यो । 

"जस्तै अमेरिका , युरोप र कतार मलेसियातिर पनि यहाँको जस्तै झिँगा हुन्छन् होला र ? चाइनाका झिँगा कस्ता हुँदा हुन् ?" – खड्का मेघराजको अझै चित्त बुझेन ।

हामी बीचको फुर्सदिलो गफ भयो । 

छेउमै बसेका र पत्रकार तालिममा आएका हिमाल बुढाले भने – "मलेसियाका झिँगा पनि यस्तै हुन्छन् सर । बिल्कुल यस्तै ।" उनले भुईँतिरका झिँगाहरुतिर नजर लगाएर भने ।

"ए , यस्तै हुन् है !" – खड्का मेघराजले झन उत्साहित भए । उनले कुरै कुरामा भने -"फरक देशका झिँगा फरक हुनु पर्ने हो नि !"

"गाउँ शहरमा मात्र बस्ने हैनन् कयारे ! वन जङ्गल पनि बस्छन् । फोहोरमा जन्मन्छन् । हुर्किन्छन् । जहाँ जसरी पनि फैलिँदा हुन् ।" मैले भनेँ ।

"एकै खालका झिँगा अमेरिका , युरोप , एसिया , अफ्रिका कसरी पुगे होलान् त बड्डा ?" मेघराजले मानाैँ झिँगाको थेसिस लेख्नलाई यो सबै सोधिरहेछन् । उनको कुरा सुन्दा लाग्छ , जाबो झिँगा त अमेरिका , युरोप , चाइना , जापान , मलेसिया , कतार जान्छन् भने हामी जस्तो चेतनाले भरिपूर्ण मान्छे किन रुकुम पध्चिमबाट यो रुकुम पूर्वमा आउन पनि यति बिध्न कठिन ?

उनको झिँगा सम्बन्धि जिज्ञासाले हामीहरु एक क्षण  मुख च्यातिने गरि हाँसीरह्याैँ । 

कतै पनि "हाँस्नु स्वास्थ्यको लागि हानीकारक छ !" भनिएको छैन क्यारे !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?