सिटिजन लाइफको जीवन बीमाकोष ४ अर्ब नाघ्यो, बीमाशुल्क पनि शतप्रतिशतले बढ्यो

लोकपथ
70
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष १११.४० प्रतिशतले वृद्धि भएर ४ अर्ब २४ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोष २ अर्ब ८२ लाख रहेको थियो । जीवन बीमा कोषको वृद्धिसँगै कम्पनीले आक्रामक रणनीति अवलम्बन गरेकाले व्यवसाय विस्तारमा समेत शतप्रतिशत वृद्धि गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कुल बीमाशुल्क ६२ करोड ८ लाख रुपैयाँ संकलन गरेकोमा यस आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २४ करोड ३२ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले जगेडा तथा कोषको आकार पनि ५९ करोड १० लाख रुपैयाँबाट करिब ४४ प्रतिशतले बढाएर ८५ करोड ३ लाख रुपैयाँमा पुर्याएको छ। यसका साथै कम्पनीले लगानी, बीमालेखको धितो तथा अन्यकर्जाबाट प्राप्त हुने आयमा करिब ५१ प्रतिशतले वृद्धि गरी १६ करोड ५१लाख रुपैयाँ पुर्याएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम ६ अर्ब ८९ करोड मध्ये करिब ७२.४७ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?