टाट पल्टिन लागेको युटीएल किन्न उपेन्द्र महतोको दौडधूप

काठमाडौं ।  भारतीय लगानीको युनाइटेड कम्पनी लिमिटेड (युटीएल) बेच्ने तयारी गरिएको छ । कुनै बेलाको चर्चित कम्पनी युटीएलको पछिल्लो समय बजारमा प्रभाव छैन। कुनै आकर्षक ग्राहक तान्ने योजना नल्याएको युटीएल हालसम्म सञ्चालन मै भएपनि बजारमा गुन्जायस भने छैन ।

नेपालको दूरसञ्चार क्षेत्रमा प्रभाव जमाउन नसकेको युर्टील टाट पल्टिने अवस्थामा पुग्दै गर्दा बेच्ने तयारी थालिएको हो ।कम्पनी किन्नको लागि व्यापारी तथा गैर-आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले दौडधूप बढाएका छन् ।यद्यपि, यसअघि पनि युटीएलमा महतोको २० प्रतिशत सेयर थियो ।

महतोले थप लगानीसहित युटीएल खरिद गर्नका लागि छलफललाई तीब्र पारेको स्रोतको भनाई छ । स्रोतका अनुसार यूटिलमाथिको कर छुटका साथै सेवा विस्तारको लागि उनले पछिल्लो दिनमा दौडधूप बढाएका हुन् ।

सञ्चार मन्त्रालयमा सबै प्रक्रिया मिलाउन महतो अाफैं फाइल बोकेर जाने गरेको एक अधिकृतस्तरको कर्मचारीले बताए । उनका अनुसार  सबै प्रक्रिया मिलाउनका लागि महतोले सचिवदेखि मन्त्रीस्तरसम्म निरन्तर छलफल गर्दै आएका छन् । युटीएल खरिदबारे जानकारी लिन खोज्दा महतोसँग सम्पर्क हुन सकेन ।

नेपालमा १६ वर्षअघि स्थापना भएको यूटीएल सुरुदेखि नै घाटामा रहँदै आएको छ । यूटीएलले गत वर्षको भदौमा दूरसञ्चार सेवाको एकीकृत अनुमतिपत्र (युनिफाइड लाइसेन्स) लिएको थियो ।

यूटीएलले किस्ताबापतको २० करोड रुपैयाँ चुक्ता गरेपछि प्राधिकरणले लाइसेन्स दिएको हो । सरकारले त्यसको ४ वर्षअघि नै एकीकृत लाइसेन्स दिने निर्णय गरेको थियो ।

हाल यूटीएलले नेपालको ४० जिल्लाका करिब १ सय १० प्रमुख सहरमा ‘लिमिटेड मोबिलिटी’ प्रविधिमा आधारित टेलिफोन सेवा उपलब्ध गराउँदै आएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ५ लाख २६ हजार ८ सय ६९ जना यूटीएलका भ्वाइस सेवा र ६३ हजार डाटा सेवा लिने ग्राहक छन् । यद्यपी सो सेवा प्रभावकारी नरहेको जन-गुनासो छ ।

स्रोतका अनुसार उपेन्द्रको लबिङमा युटिएलसँग रहेको सम्पूर्ण सेयर नेपालका केहि ठूला  ब्यबसायीक गुपले खरिद गर्न लागेका  हुन् ।  जसमा  बिशाल ग्रुप, जावलाखेल ग्रुप, प्रभु ग्रुप, ज्योति ग्रुप,  आइएमइ ग्रुप समेत रहेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?