गौरवको हिरोइज्म सधै काम चलाउ मात्र?

काठमाडौं । अभिनेता गौरव पहारी केही समयअघिसम्म बाबु टीका पहारीका छोराको परिचयबाट चिनाइने गर्थे । अहिले उनले आफ्नो नामलाई जेनतेन चिनाइरहेका छन् ।

फिल्म नगरीमा उनको परिचय त राम्रै छ तर उमेरले तीन दशक पार गरिसकेका गौरवका कुनै फिल्मले पनि आक्रामक चर्चा पाउन सकेका छैनन् । न त उनले गरेको अभिनयले नै प्रशंसा पाउने गरेको छ ।

भारतीय फिल्मको कथामा थपथाप पारेर बनाइएको फिल्म ‘मन्दिरा’ मा उनको अभिनयको तारिफ भयो तर फिल्मको खासै तारिफ भएन । सँगैका अभिनेता अनमोल केसीले जुन खालको स्टारडम बनाएका छन्, त्यसका आधारमा उनी लगभग हराएका छन् । फिल्ममा प्रायः उनी सह–पात्रका रुपमा उभ्याइन्छन् । फिल्म ‘रातो घर’ मा उनले अभिनय गरेको अभिनयको केही तारिफ भयो । उक्त फिल्ममा पनि उनी ग्रुप अभिनेता नै थिए । त्यो बाहेक अरु फिल्ममा उनले खासै जादु देखाउन सकेनन् ।

पाएका फिल्म नछोड्ने तर अभिनय नसुधार्ने यी अभिनेताले अभिनयका हिसाबले आफूलाई अपग्रेड गर्न सकेका छैनन् । पछिल्लो समय केही मोटाएका उनी फिल्मका लागि मोटाएको बताएका छन् तर फिल्मका लागि अभिनय सुधार्न खोजेको देखिँदैन ।

नेपाली रंगमञ्च र अभिनयमा जमेका टीका पहारीको जुन उचाई छ त्यो उचाई के गौरव पहारीले धान्न सक्लान्? यदि यस्तै गरी पाएका सबै फिल्म खेल्दै गए र अभिनय पनि काम चलाउ बनाउँदै गए भने गौरवको करिअर यहाँभन्दा माथि उठ्ने देखिँदैन ।

अब उनले छानेर दमदार भूमिका गर्नुपर्ने देखिन्छ । होइन भने अबका केही वर्षमा नै उनको करिअर धरापमा पर्ने पक्का छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?