केन्द्रीय सरकारको मुख्य प्रशासनिकक्षेत्र सिंहदरवारस्थित गृहमन्त्रालयको परिसरबाट सार्वजनिक गरिएका सुन तस्करका नाइके गोरे भन्ने चुडामणि उप्रेतिलाई मिडियाहरुले थप अर्को नाम जुराई दिएका छन–‘गोल्डेन डन’ गोरे ।
विगत १० वर्षयता नेपालमा विभिन्न पटक भएका संगठित सुन तस्करी घटनाका नाइके तथा सनम शाक्य हत्या घटनाका मुख्य अभियुक्त चुडामणि अपराधको कुकर्ममा ‘गोरे’ उपनामले परिचित थिए ।
घर परिवारले गहुँ गोह्रो वर्ण भएकाले चुडामणिलाई गोरे उपनाम दिएको थियो । तर, यो नाम सुन तस्करीमा उनका लागि फलिफाव बन्यो । अन्य कुरा गोप्य राखेपनि ‘गोरे’ नाम सुन्ने वित्तिकै सुन तस्करी जन्य संगठित अपराधमा संलग्नहरु कान ठाडो बनाउथे ।
को हुन् ‘गोल्डन डन’ गोरे ?
मोरङको इटहरीमा सामान्य उप्रेति परिवारमा जन्मेका गोरेको पारिवारिक अवस्था त्यति राम्रो थिएन । नेपाल प्रहरीका अवकासप्राप्त पूर्व असई नेत्र उप्रेतिका जेठा छोरा हुन् गोरे । उनी गाँउघरमा ‘रुपेश’ नामले समेत परिचित थिए ।
२०५० साल इटहरिबाट तिर उर्लाबारी बसाई सरेका नेत्रले आफ्ना दुई छोरा गोरे र रमेशलाई स्थानीय सरस्वती माविमा भर्ना गरेका थिए । पढाइमा त्यति अब्बल नभएपछि गोरेले पठाइ पनि विचमै छोडेर जागिरको खोजीमा ५२/५३ साल तिर काठमाडौं आएका थिए ।
काठमाडौंमा पनि आफूले चाहेजस्तो जागिर नभेटेपछि उनी बैदेशीक रोजगारको सिलसिलामा खाडी मुलुक गएका हुन । खाडीमा तीनवर्ष लामो बसाई उनका लागि सुन तस्करी गर्ने सजिलो उपाय बन्यो ।
नेपालको बसाईमा उनको भेट मनाङ घरभइ हाल ठमेलमा होटल सञ्चालन गरिरहेका भुजुङ गुरुङसंग भएको थियो । भुजुङले पनि ठूलो परिमाणको सुन तस्करी गर्ने गरेका थिए । एक जना न्यूरोडको सुन ब्यापारीको सुन ल्याउने क्रममा ती दुईजनाको सम्वन्ध बढेको थियो ।
सुनकाण्डको अनुसन्धानमा संलग्न अधिकारीका अनुसार, खाडी मुलुकबाट नेपालमा सुन तस्करीमा भुजुङ र गोरेको टिम सशक्त र वलियो मानिन्थ्यो । त्रिभुवन विमानस्थलबाट आयात हुने सुन प्रहरीकै सहयोगमा ब्यापारीको घरघरसम्म पुग्न थालेपछि सुन ब्यापारीहरु पनि उनीप्रति पूर्ण विश्वास गर्थे ।
सोही विश्वासमा कारण गोरेले अधिकांस सुन तस्करीको जिम्मा लिने गरेका थिए । प्रहरीलाई काम देखाउन कहिलेकाँह उनले आफ्ना विरोधीहरुको सुन पक्राउन सुराकीको समेत भूमिका निर्वाह गर्थे ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार, प्रहरीका उच्च अधिकारीदेखि ठूलो खाले सुन व्यापारीहरूसँगको साँठगाँठ बढेसंगै करीव ५ वर्षसम्म सुन तस्करीमा गोरेले साम्राज्य नै चलाएका थिए । यो वितेको पाँच वर्षमा ४ सय २१ पटक गरी ३ हजार ७ सय ९९ किलो ५९ ग्राम सुन भित्र्याएको अनुसन्धान खुलेको छ ।
उक्त सुनको नेपाली वजार मूल्य १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३१ रुपैयाँ हुन आउँछ । सरकारले गोरेसहित विभिन्न ६३ प्रतिवादी विरुद्ध १७ अर्ब १ करोड ८० लाख रकम बिगो दाबीसहित जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिसकेको छ ।
तर, मुद्धा फितलो हुनेमा आशंका उब्जीएको छ । उनीहरूविरुद्ध अपराधिक समूह स्थापना, सुन चोरी निकासीको अवैध करोबार, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान अन्तर्गत मुद्दा दायर गरिएको छ ।
गोरे र भुजुङ सम्वन्ध
गोरेले पढाइ बीचैमा छोडेर भारतीय सेनामा जागिर खान पनि गए । तर, त्यो जागिर उनका लागि निल्नु नओकेल्नु भयो । उमेर ३६ वर्षीय काटेका गोरे विरक्तीएर वैदेशिक रोजगारीका लागि दुबई लागे । दुवई बसाईका क्रममा सुन तस्करहरुको सञ्जालमा उनी ठोक्कीन पुगे । जुन सञ्जालको नेतृत्व भुजुङले गरिरहेका थिए ।
सो कुरामा भुजुङ कमजोर देखिएपछि आफ्नो भागमा आएको काम पनि भुजुङले गोरेलाई नै दिने गर्थे । जसका कारण उनको सुन तस्करी धन्दा एकलौटी बन्न पुग्यो ।
सुन तस्करीसंग कमाएको मनग्गे सम्पति उनले घरजग्गा लगानी गरे । दुवाईदेखि विमानस्थलसम्म, काठमाडौंदेखि भारतसम्म नेटवर्क फैलाउन सफल भए ।
सो नेटवर्कमा उनले करीव ३० जना भन्दा बढीलाई काम समेत दिए । उनको समूहको प्रत्येक सदस्यसंग मोटरसाइकल अनिवार्य थियो । सो मोटरसाइकल खरिद गर्ने ब्यवस्था समेत उनै गोरेले मिलाएका थिए ।
रातरात अर्वपति
१० वर्षअघि गोरेको उर्लाबारी– ७ स्थित पशुपति मार्गमा २ तले तर सामान्य घर मात्र थियो । सामान्य आर्थिक हैसियतका गोरे विदेश गएर फर्किएपछि काठमाडांैको गौरीघाटमा बस्न थाले । त्यसपछि उनको हैसियत एकाएक बदलियो, गोरे नव–धनाढ्यका रूपमा उदाए ।
गाँउघरमा सर्वसाधारणले गोरेले विदेश बसेर पैसा राम्रो कमायो छ भन्थे–तर भित्री कुरा कसैलाई थाह थिएन । कार फेरी फेरी चढ्ने, पैसा खाली नहुने घर घडेरी र जग्गा खरिदको हल्ला चलिरहने भएकाले छिमेकीहरु सशंकित पनि हुन्थे ।
शुरुका भरिया
शुरु–शुरुमा गोरे सुन तस्करीको भरियाका रूपमा काम गर्थे । ‘चतुर’ गोरे भरियाको काम गर्दागर्दै आफैं सुनको अवैध कारोबारमा संलग्न भए । उनी भाइ रमेश उप्रेतीलाई दुबईमा राखेर आफू नेपाल बसी कारोबार विस्तार गर्न सक्रिय भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
उनी सफल हुनुको मुख्य कारण प्रहरीको मिलिमतो नै थियो । उनले सुन सुरक्षित ढंगले सप्लाई गरि दिएवापत प्रहरीका उच्चअधिकारीलाई नगदमात्र होइन उनीहरुका श्रीमतीलाई गहना समेत बनाइ दिन्थे । यसकारण गोरेले प्रहरीदेखि विमानस्थलमा तैनाथ कर्मचारीको मन जित्न सफल भए । प्रहरीसँग सेटिङ मिलाउन सफल भए । भुजुङ गुरुङका भरिया गोरे पछि पार्टनर नै बनेर उदाय ।
पहिले दुबईमै बसेर सुन पठाउने काम गरेको पाइयो, घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने— पछि उ, आफैं नेपाल फर्किएर कारोबारीका रूपमा सुन तस्करी गर्न थालेको पत्ता लागेको छ ।
‘सुन तस्करीका कारण गोरेका लागि नेपाल र दुबई उनको पानी पँधेरो जस्तै देखियो, अनुसन्धानमा संलग्न एक अधिकारीले भने–उनी एक साता नेपाल बसे भने दुई साताभन्दा बढी दुबई बस्थे ।
सिंगो परिवारलाई नै काठमाडौं बस्न बोलाए
अकुत सम्पत्ति कमाएपछि गोरेले आफना बुबा नेत्र तथा आमा बिनादेवीलाई काठमाडौंमा नै बस्ने गरि बोलाएका थिए । करिब छ सात वर्षदेखि गोरेका आमा–बुबा र गोरे काठमाडौंमा बस्दै आएका थिए । पहिले बस्दै आएको उर्लाबारीको दुईतले सानो पक्की घर भाडामा लगाएका छन् । गोरेले काठमाडौंमा चार तले घर बनाएका छन् ।
सोही घर बनाएको पाँचवर्ष नवित्दै ३३ किलो सुन हराएको थियो । सो सुनको अनुसन्धान गर्ने क्रममा गोरेले सनम शाक्यलाई यातना दिएर हत्या गरे ।
घटनाको पोल यसरी खुल्यो
गोरेका सहयोगी भनियाका सुनका भरिया सनम शाक्यको हत्या गरिएको शव सहित तीनजना पक्राउ परेपछि मोरङ प्रहरीले घटना रहस्यमय भएको भन्दै सनमका परिवार तथा आफन्तलाई प्रहरी प्रधान कार्यालय र टेकुमा रहेको अपराध महाशाखासंग विस्तृत बुझन आग्रह गर्यो ।
सो घटनाको सत्यतथ्य बुझ्न मृतक सनमका आफन्तले एक आन्दोलन समिति नै गठन गरी पत्रकार सम्मेलनको आयोजना गरी सनमको हत्या प्रहरीकै मिलिमतोमा भएको निष्कर्ष निकाल्यो । सो कुरा एककान दोकान गृहमन्त्री रामबहादुर थापाको कानमा प¥यो ।
मन्त्री थापाले पनि सामान्य रुपमा लिएको सो घटनाको अनुसन्धानका लागि सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा छानविन कमिटि गठन गरे । जुन कमिटिले काम थालेको २४ घण्टा नवित्दै घटना थप रहस्यमय बन्दै गएको चाल पाएपछि गोरेको कर्तुत वाहिर आएको हो ।
अपराध लुकेर लुक्दैन र छोपेर छोपिदैन भने झैै गोरेका लागि ‘पाप धुरिबाट’ कराएर आएको छ । उनलाई सो घटना भएको करीव तीन महिनापछि भारतबाट पक्राउ गरी काठमाडौंमा ल्याइ सार्वजनिक गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया