एउटा लोकगीत, जसले दर्शक रुवायो (भिडियाे)

काठमाडौं । नेपाली संगीतमा शायदै लोकगीत सर्वाधिक रुचाइन्छन् । त्यसो त फिल्म या अन्य गीतमा प्रयोग हुने लोकशैलीका गीतलाई रुचाइन्छ तर ठेट लोकगीतलाई खासै चासो दिइँदैन ।
तर, केही दिनदेखि एउटा लोक गीत सबैको प्रिय गीत बनेको छ ।

गीत हो – बोल माया ।

प्रकाश सपूतले तयार पारेको यो गीतमा परदेश कमाउन गएको एक युवा पैसाको सट्टा काठको बाकसमा आउनुपरेको घटनालाई उठाइएको छ । अहिले यो गीत सर्वाधिक चर्चामा रहेको गीत बन्न सफल भएको छ ।

गीतको भिडियो हेरेर रोएको कतिपयले बताएका छन् । सूर्य खड्काले युट्युबमा गीतको भिडियो हेरिसकेपछि लेखेका छन्, ‘आज फेरि रोए गीत सुनेर, घरदेश र परदेशबाट रुने कति हुनुहुन्छ होला ।’

उनले लेखेको कमेन्टमै प्रिन्स रविनले लेखेका छन्, ‘गीत हेरेपछि अहिलेसम्म शरीर काँपिरहेको छ ।’

अर्को एउटा प्रतिक्रिया छ – ‘परदेश रुँदैछु ।’

अर्का युट्युब प्रयोगकर्ता विपिन रेग्मीले लेखेका छन्, ‘म पनि रोएको छु भक्कानिएर ।’

खासगरी गीतका शब्द र भिडियोको मेकिङले दर्शकको अपार साथ पाएको छ । सम्भवतः नेपाली लोकगीत क्षेत्रमा यति धेरै रुचाइएको यो पहिलो गीत हो ।

गीतमा प्रकाश सपूतले शब्द तथा संगीत दिएका छन् । साथै गीतमा प्रकाश सपूत, नारायण रायमाझी र शान्ति श्री परियारले स्वर दिएका छन् ।

त्यस्तै गीतको भिडियोको निर्देशन पनि प्रकाशले नै गरेका हुन् भने भिडियोमा अञ्जली अधिकारी, देवेन्द्र बब्लु, सितारे गन्धर्व लगायतले अभिनय गरेका छन् ।

युट्युबमा गीतको भिडियो (यो समाचार तयार पार्दासम्म) १० लाखभन्दा बढीले हेरिसकेका छन् भने झण्डै ६ हजार प्रतिक्रिया आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?