मलेसियामा मन्त्रीको तलब घटार्इयो, सरकारी खर्चमा पनि कटाैती

क्वालालम्पुर, मलेसिया : मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो सरकारका मन्त्रीहरूको तलब सुविधामा १० प्रतिशतले घटाएका छन् । सरकारको उच्च खर्चलाई कटौति गर्ने लक्ष्य अनुरूप बयानब्वे वर्षीय नेता मोहम्मदले सरकारी खर्चलाई २५१ अर्ब पाँच करोड अमेरिकी डलरमा झार्ने बताएका छन्। 

मलेसियाको विकासका सुत्रधार मानिने प्रधानमन्त्री महाथिरले यस पहिले करिब २२ वर्ष मलेसियाको सरकारको नेतृत्व गरेका थिए । पुन: प्रधानमन्त्रीमा निर्वाचित भएपछि महाथिरले मलेसियाको प्रशासन र राज्यव्यवस्थामा सुधारको प्रकृया फेरि अघि बढाएजस्तो देखिएको छ  । 

मन्त्रीपरिषद्को पहिलो बैठकमै महाथिरले सरकारको सञ्चालन खर्च कटाैती र तलबमान घटाउने प्रस्ताव पेश गरेका हुन् । बैठकमा नयाँ सरकारका लागि सपथ खाएका एक दर्जनभन्दा बढी मन्त्रीहरूको उपस्थिति रहेको थियो । 

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री महाथिरले भने, “हामी राष्ट्रको आर्थिक समस्याप्रति सजक छौँ, हामीले अन्य उच्च सरकारी कर्मचारीको हकमा सुविधा कटौतिलाई बाध्यकारी बनाउने छैनौ । तर यदि कसैले देशका लागि योगदान गर्न चाहन्छ भने उनीहरू स्वतन्त्र छन् ।” 

निर्वाचन अभियानका समय गरेका प्रतिवद्धतालाई प्रधानमन्त्रीले आफूले सत्ता सम्हालेकै दिनदेखि कार्यान्वयनमा लाने प्रयास गरिरहेका छन् । यसै अनुरूप उनले विभिन्न करको दायरालाई समेत परिवर्तन गर्न अग्रसरता लिएका छन् । 

महाथिरले हाल मलेसियाको ऋण यहाँको कुल ग्राहस्थ उत्पादनको झण्डै ६५ प्रतिशत रहेको जनाउँदै पारिश्रमिकमा कटौतिबाहेक देशको अर्थतन्त्रलाई उकास्ने अन्य उपाय पनि रहेको दाबी गरेका छन्। उनले खर्च कटाैती हुनेगरि सानो आकारको मन्त्रीमण्डल गठन गर्ने र यसका अतिरिक्त विदेशमा उठ्न बाँकी कोषलाई पनि उठाउन पहल बताएका छन् । 

सार्वजनिक यातायात आयोगलाई निलम्वन गर्ने र यसको काम यातायात मन्त्रालयबाट गर्ने तथा अनावश्यक देखिने अन्य कैयौँ संघसंस्थालाई पनि निलम्बन गरिने मलेसियाली सरकारको योजना छ । साथै, केही ठूला योजनाबारे सरकारले अध्ययन गर्ने र अनावश्यक योजनालार्इ हटाउने पनि महाथिरले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?