संघीयता अनुसारका स्वास्थ्य संरचना बनाउँदैछौ : स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले संघीयता अनुरुपका स्वस्थ्यका संरचना र प्रभावकारी स्वास्थ्य प्रणाली बनाउन क्रियाशील रहेको बताएका छन् । 
विश्व स्वास्थ्य संगठनको ७१औँ महासभालाई बुधबार जेनेभामा सम्बोधन गर्दै राज्यमन्त्री अर्यालले स्वास्थ्य क्षेत्रको संस्थागत विकास स्थानीय तहमा स्वास्थ्यका संरचना र गुणस्तरीयतामा सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई सहकार्यका लागि आग्रहसमेत गरे । 

उनका स्वकीय सचिव राजेश शर्माका अनुसार राज्यमन्त्री अर्यालले नेपालले हालसम्म स्वास्थ्यको क्षेत्रमा हासिल गरेको उपलब्धिका बारेमा प्रकाश पार्दै सहस्राब्दी विकास लक्ष्यको नजिक पुगेको बताएका थिए । 

उनले विगतमा नेपालले गरेको सफल अभ्यासको सिकाइलाई आत्मसात् गरी विश्व स्वास्थ्य संगठनको नीति, योजना र कार्यक्रम निर्माणमा नेपालको पनि प्रभावकारी भूमिका हुनुपर्नेमा जोड दिएका थिए । 

मन्त्री अर्यालले बुधबार नै भारतका स्वास्थ्यमन्त्री जगतप्रकाश नाडा र चिनियाँ प्रतिनिधिमण्डलसँग भेट गर्दै स्वास्थ्य क्षेत्रमा भएका सहकार्य, आगामी दिनमा हुनसक्ने साझेदारीका बारेमा छलफल गरेको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?