प्रदेश नं. २ को सत्ता गठबन्धनमा तानातान, विवाद स्थानिय तहमा सर्दै

काठमाडौं । प्रदेश नम्बर २ को सत्तारूढ गठबन्धनबीचको तानातान स्थानीय तहमा पुग्न थालेको देखिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण खर्चमा देखिएको अनियमितताका कारण प्रदेश नम्बर २ को सरकार आलोचित भइआएको छ । ७ करोड २० लाख बराबरको मोदी भ्रमण खर्चमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका मन्त्री र सांसदहरूबीच विवादको निकास निस्कन नपाउँदै सर्लाही जिल्लास्थित एक स्थानीय निकायमा यस्तो विवाद देखा परेको छ ।

संघीय समाजवादी फोरम नेपालबाट चुनाव जितेका सांसद सञ्जयकुमार यादवले कविलासी नगरपालिकाका मेयर र कार्यकारी अधिकृतले ठूलो पार्टीको धाक लगाइ विवाद गरेको देखिएको छ ।
सांसद यादवले यो विवादलाई औपचारिकरूपमै सार्वजनिक गरेका छन् । 

बिहीबार पत्रकार सम्मेलन गरी सांसद यादवले  कविलासी नगरपालिकाका कार्यकारी अधिकृत नवीन श्रीवास्तवले आर्थिक हिनामिना गरेको आरोप लगाए । उनले भने “ कविलासी नपाका कार्यकारी अधिकृत नवीन श्रीवास्तवले नगर कार्यपालिकाको माइन्युट झोलामै लिएर जाने गरेका छन् । उनले माइन्युटलाई चरम दुरूपयोग गर्दै हिँडेका छन् ।”

सांसद यादवका अनुसार  फोरमबाट चुनाव जितेका वडा नं. ७ का वडा सदस्य रामरेख साहलाई बुधबार राती करिब ८ः३० बजेको समयमा अपहरण शैलीमा कार्यकारी अधिकृत श्रीवास्तवले गाडीमा हाली मलङ्ग्वा स्थित होटेल जानकी फ्यामिली एण्ड पार्टी प्यालेसमा ल्याएका थिए । उनले  वडा सदस्य साहलाई रु. १ लाख नगद तथा अन्य विभिन्न प्रलोभन देखाइ कार्य आदेश भइसकेको योजनाहरूको कार्य आदेश बदर गराउन सहयोग मागेका थिए । यसका लागि माइन्युटमा मिति केरमेट गरिएको र नकली  निर्णयमा हस्ताक्षर गराउन खोजेका थिए । वडा अध्यक्ष साहले पिसाब फेर्ने बहाना बनाइ  शौचालयमा गइ आफूलाई सो घटना फोनबाट बताएको सांसद यादवले पत्रकार सम्मेलनमा खुलाएका थिए । घटनाबारे अगाडि जानकारी दिँदै उनले भने “ म राति तत्काल होटल पुगे । कार्यकारी अधिकृत श्रीवास्तवसंग रहेको माइन्युट खोसे ।”

सांसद यादवका अनुसार  कविलासी नपाको वडा नं. १० मा सडक निर्माण, कम्पाउण्ड बाल निर्माण, सडक ढलान, नाला निर्माण, शौचालय निर्माण र ह्याण्ड पाइप जडान लगायतका योजनाहरूको कार्य आदेश भइसकेको थियो ।

तर नगर प्रमुख र कार्यकारी अधिकृतको मिलेमतोमा नगर कार्यपालिकाको जेठ ७ गते बसेको बैठकको माइन्युटलाई केरमेट गरियो । माइन्युटमा उल्लेख भएको मिति जेठ  ७ लाई ९ गते बनाइएयो ।  सो माइन्युटमा कार्य आदेश भइसकेको कविलासी नपा वडा नं. १० को सम्पुर्ण योजनाहरुको कार्य आदेश बदर गर्न यसो गरिएको सांसद यादवको आरोप छ ।

फोरमका  सांसद यादवले केही समय अगाडी कविलासी नपाको वडा नं. १० मा ठोस योजना पार्न दबाब दिएका थिए । उनले नगरपालिका कार्यकारी अधिकृत नवीन श्रीवास्तवलाई ४ वटा योजनाहरुको टिप्पणी सदर गर्न लगाएका थिए ।

उता कार्यकारी अधिकृत श्रीवास्तवले फोरमका सांसदले आफूमाथि बलजफ्ती गरेको आरोप लगाए । उनले भने “ सांसद यादवले जबर्जस्ती हस्ताक्षर गराएले ४ वटै योजनाहरूको कार्य आदेश बदर गर्ने निर्णय गरिएको छ ।”

सांसद यादवले भने यसबारे आफूले कार्यकारी अधिकृतलाई  कुनै किसिमको जोर जबर्जस्ती नगरेको बताए । उनले भने “विपक्षीहरूले हुँदै नभएको घटनालाई बढाइ चढाइ गरि मेरो चरित्र हत्या गर्ने खेल खेलेका छन् ।” वडा नं. १० को विकास निर्माणकै निहुँ झिकेर विपक्षीहरूले स्कुल, अस्पताल र नापाको कार्यालय समेतमा तालाबन्दी गरेको सांसद यादवको भनाइ छ । स्कुल र अस्पताल संचालनमा आएपनि नपाको कार्यालयमा अझैसम्म तालाबन्दी कायमै रहेको छ । 

सांसद यादवका अनुसार  फोरमको बहुमत भएर पनि राजपाका नगर प्रमुखले एकल निर्णय गर्ने गरेका छन् । सानो कुरामा विवाद झिकेर नपाको काम कारबाही रोकिदिने गरेका छन् । उनले भने, ‘यस्तो अवस्थामा नगरपालिकाको काम अगाडि बढाउन समस्या भइरहेको छ ।’

यस विषयमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको रोहवरमा दुवै पक्षबीच सहमति कायम भएपनि विपक्षीले अहिलेसम्म सहमतिलाई व्यवहारमा लागू नगरेको सांसद यादवको कथन छ ।

यस विषयमा नगर प्रमुख कौशल किशोर यादवले प्रदेश सांसद संजय कुमार यादवले कानुनलाई हातमा लिने काम गरेको आरोप लगाए । उनले भने “ कर्मचारीमाथि हातपात गर्ने कार्य घोर निन्दनीय छ । पारदर्शी काम गर्न खोज्दा विवाद गराउन खोजिएको छ । उनीहरूसँग बहुमत भएपनि काम कारवाही पारदर्शी गर्न सकिएको छैन् । 

एउटै फाइलमा फरक फरक कलरको पेन प्रयोग भएको र एउटै व्यक्तिले २० र २० जनाको छाप समेत लगाएका प्रमाण भेटिएको छ बताउँदै नगर यादवले भने “वडा नं. १० को ४ वटै योजनाको टिप्पणीमा मैले हस्ताक्षर गरेको छैन् ।”

उनले सांसदलाई मिलोमतोमा अधिकारको दुरूपयोग गरेको विषयलाई सावित गर्न चुनौती समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?