कोषले बचतकर्तालाई जलविद्युतको शेयर दिनुपर्ने

विराटनगर । नागरिक लगानी कोषले बचतकर्ताको रकममा प्रत्येक तीन महिनामा ब्याज उपलव्ध गराउनु पर्नेमा यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रमा सेवाग्राहीले बताएका छन् । 

नागरिक लगानी कोष प्रदेश नं १ शाखा कार्यालय विराटनगरद्वारा शुक्रबार साँझ यहाँ आयोजित अन्तक्र्रियामा उनीहरुले कोषद्वारा लगानी गरिएको जलविद्युतको शेयर बचतकर्तालाई वितरण गर्नुपर्नेमा जोड दिए । 

सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बचतकर्तालाई संरक्षण गर्ने गरी नेपाल सरकारको नीतिअनुसार कोषमा जम्मा भएको रकम आर्थिक समृद्धि र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकत्ता औंल्याए । 

कोषका उप व्यवस्थापक रोशनजंग कार्कीले बचतकर्तालाई संरक्षण गरी आगामी दिनमा कोषको लगानी रहने जलविद्युत्को शेयर उपलब्ध गराउने नीति बनाउने बताए । 

कोषका विराटनगर प्रमुख वसन्तकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा कोषका उप व्यवस्थापक नारायण घिमिरे, नेपाल राष्ट्र बैंकका उप निर्देशक नन्दकुमार ढकाल, नवराज गौतम, कर्मचारी सञ्चयकोषका शान्ता गौतम र रीता पाठकले कोषले प्रदान गर्ने सेवा र सुविधाका सम्बन्धमा जानकारी दिए । 

विसं २०४७ चैतमा स्थापित कोषमा ६ लाख ५० हजार सेवाग्रहीका रु एब खर्ब तीन अर्ब ५८ करोड रकम सञ्चित रहेको छ । कोषले आगामी दिनमा सेवाग्राहीलाई थप सेवा सुविधा उपलब्ध गराउने बताइएको छ । 

तीन वर्ष अगाडि खोलिएको प्रदेश नं १ अन्तर्गतको विराटनगर कार्यालयबाट यस क्षेत्रका साथै प्रदेश नं २ का पर्सा जिल्लासम्मका बचतकर्ताले समेत सेवा प्राप्त गरिरहेको कार्यालय प्रमुख श्रेष्ठले बताए । 

कोषले आगामी दिनमा मुलुकको संघीय संरचनना अनूरुप सातै प्रदेशमा कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ । काठमाडौँ बाहेक पोखर र विराटनगरमा कार्यालयबाट बचतकर्ताले सेवा पाइरहेका छन् । 

विराटनगरमा रहेको कार्यालयका ११ जना कर्मचारीवाट दैनिक १२५ जना बचतकर्ताले सेवा प्राप्त गरिरहेका छन् । 

कोषको कार्यालय सेवाग्रही मैत्री र सूचना प्रविधि मैत्री हुनुपर्नेमा बचतकर्ताले जोड दिएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?