सरकारको नीति तथा कार्यक्रमलाई सफल बनाउन निर्माण व्यवसायीहरुको भूमिका महत्वपूर्णः मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारको नीति तथा कार्यक्रमलाई सफल बनाउन निर्माण व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । 

शुक्रवार राजधानीमा महासंघले गरेको रमन एफक्यान एक्सिलेन्स अवार्डलाई सम्बोधन गर्दै मन्त्री महासेठले नीति तथा कार्यक्रम भौतिक पूर्वाधारको क्षेत्रमा बढी केन्द्रीत रहेकाले त्यसलाई सफल पार्न निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताएका हुन् । निर्माण व्यवसायीका समस्या आफूले राम्ररी बुझेको बताउँदै मन्त्री महासेठले सरकारसँग सहकार्य गरी अघि बढ्न व्यवसायीहरुलाई आग्रह गरे । विगतमा सरकार र व्यवसायीबाट जे–जे कमजोरी भएपनि त्यसलाई त्याग्दै राष्ट्रवादी सोच सहित सबै विकासमा होमिनुको विकल्प नभएको मन्त्री महासेठको भनाइ थियो । नेपाल बनाउने नेपालीले नै हो भन्दै मन्त्री महासेठले गुणस्तर र समय सीमालाई उच्च प्राथमिकता दिँदै काम गर्न व्यवसायीहरुलाई निर्देशन दिए । निर्माण परियोजनाको कमी कमजोरीमा निर्माण व्यवसायीलाई मात्र दोष लगाउने प्रवृत्ति गलत भएको मन्त्री महासेठले बताए ।

कार्यक्रममा मन्त्री महासेठले उत्कृष्ट कार्य गर्ने विभिन्न श्रेणीका निर्माण व्यवसायीहरुलाई रमन एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरे । जस अन्तर्गत एक्लासतर्फ हिमडुङ एण्ड थोकर कन्स्ट्रक्शन प्राइभेट लिमिटेडले गोल्ड अवार्ड जित्यो भने सूर्य कन्स्ट्रक्शन प्राइभेट लिमिटेडले सिल्भर र ए एण्ड के कन्स्ट्रक्शन प्राइभेट लिमिटेडले ब्रोन्ज अवार्ड हात पार्यो । बीक्लास तर्फ आश्रय निर्माण सेवाले गोल्ड अवार्ड जित्दा शिवशक्ति कम्पनिले सिल्भर तथा के.एमइन्जिनियर्स बिल्डर्सले ब्रोन्ज अवार्ड जित्यो । डि क्लासतर्फ उमा एण्ड कम्पनी, आरती कम्पनी र आर आर कम्पनीले क्रमशःगोल्ड, सिल्भर तथा ब्रोन्ज अवार्ड जितेका थिए ।

त्यस्तै क्षेत्रीय निर्माण व्यवसायी संघमा पूर्वाञ्चलले गोल्ड अवार्ड हात पारेको छ । हिमाली, पहाडी तथा तराईका उत्कृष्ट जिल्ला निर्माण व्यवसायी संघ तर्फ क्रमशः जुम्ला, तनुहँ र चितवनले गोल्ड अवार्ड जितेका छन् । विदेशमाउत्कृष्ट काम गर्ने कम्पनी तर्फ कालिका कन्स्ट्रक्शनले अवार्ड  जितेको छ । नेपालको निर्माण जगतमा विशिष्ट योगदानदिने वरिष्ठ निर्माण व्यवसायी राधाकृष्ण शर्मालाई ग्लोरी अवार्ड प्रदान गरियो । पायनियर इन्जिनियर अवार्ड प्राध्यापक डाक्टर जीवराज पोख्रेललाई दिइयो भने उत्कृष्ट महिला निर्माण व्यवसायीको उपाधि मोहन कुमारी कालिकोटेले जितिन् । बेस्ट कन्सल्टिङ कम्पनी अफ द इयरको उपाधि मल्टि डिसिप्लिन्यारी ललितपुरले हात पारेको छ । कार्यक्रममा महासंघ सचिवालयकीउत्कृष्ट कर्मचारीको रुपमा पार्वतीको इरालालाई सम्मान गरिएको थियो भने निर्माण व्यवसायीका सन्ततिहरु मध्येबाट इन्जिनियरिङ विषयमा उत्कृष्ट अंकल्याउने निकिता ओझालाई सम्मान गरियो ।

निर्माण व्यवसायलाई प्रवद्र्धन गर्ने गरी समाचार सम्प्रेषण गर्ने विभिन्न संचार माध्यमहरुलाई पनि कार्यक्रममा सम्मान गरियो । साथै संसदीय तथा प्रदेशसभा निर्वाचनमा विजयी सांसदहरुलाई समेत कार्यक्रममा सम्मान प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठेले मुलुक निर्माणमा इमान्दारी पूर्वक लागेका व्यवसायीहरु माथि विभिन्न खाले आक्षेप लगाउनु गलत भएको बताए । विभिन्न समस्याका बाबजुद निर्माण व्यवसायीहरुले उत्कृष्ट काम गरिरहेको श्रेष्ठले बताए ।

यसअघि शुक्रबारै सम्पन्न महासंघको विशेष साधारण सभामा भेला भएका देशभरका निर्माण व्यवसायीहरु बीच व्यवसायी कएकता तथा समस्याका विषयमा छलफल भएको थियो । महासंघका पूर्व अध्यक्षहरुले संयुक्त रुपमा उद्घाटन गरेको साधारण सभाका क्रममा व्यवसायीहरुमाथि भइरहेको धरपकडको विरोध गरिएको थियो भने मूल्यवृद्धि तथा निर्माण सामग्रीको अभाव अन्त्य गर्न, भूकम्प तथा नाकाबन्दीका कारण पूरा हुन नसकेका योजनाको म्याद थप गर्न सहभागीहरुले जोडदार माग गरेका थिए । साधारणसभामा देशभरबाट आएका ६ सय भन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?