किमले फेरि गरे दक्षिणका राष्ट्रपतिसँग दोस्रो वार्ता

सोल –दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच शनिबार कोरियाली सीमाक्षेत्रमा रहेको शान्ति क्षेत्र पानमुनजोममा दोस्रो शिखर वार्ता भएको छ ।

दक्षिण कोरियाली राष्ट«पतिको कार्यालय बताए अनुसार दुई नेता पानमुनजोमको उत्तर कोरियाली गाउँमास्थानीय समयअनुसार शनिबार दिउसो ३ बजे भेट भई करिब दुई घण्टा सम्वाद गरेका थिए ।
भेटमा दुई नेताले गत अप्रिल २७ मा भएको पानमुनजोम घोषणापत्रको कार्यान्वयनबारे एक आपसमा विचार आदानप्रदान गरेको बताइएको छ ।
उनीहरुले उत्तर कोरियाली नेता तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको तर विविधकारणले अनिश्चित बनेको शिखर वार्तालाई कसरी सफल पार्ने भन्ने बिषयमासमेत छलफल गरेको  दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।

मुनले शिखर वार्ताबाट निस्केका निचोडबारे स्थानीय आइतबार बिहान जानकारी गराउने कार्यक्रम रहेको ब्लु हाउसले जनाएको छ । यसबारे राष्ट्रपतिको कार्यालयले बिस्तृत विवरण भने दिएको छैन ।

मुन र किमबीच गत अप्रिल २७ मा पहिलोपटक भेट भएको थियो भने उक्त भेटमा दुई नेताले कोरियाली प्रायद्वीपलाई पूर्णतया आणविक हतियारविहीन बनाउने र लामो समयदेखि कायम रहेको युद्धविराम सम्झौतालाई शान्ति सम्झौतामा रूपान्तरण गर्ने सहमति भएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले दुई दिन पहिले उत्तर कोरियाली नेता किमलाई चिठ्ठी लेखी सिङ्गापुरमा हुने भनिएको किमसँगको शिखर सम्मेलन तत्कालका लागि अगाडि बढाउन नसकिने बताएका थिए ।  अमेरिकी राष्ट्रपति कार्यालयले वार्ता रोकिनुको कारण उत्तर कोरियाद्वारा देखाएको खुला विरोध भएको जनाएको थियो ।

बिहीबार ट्रम्पले किमलाई पठाएको पत्रमा लेखिएको थियो, “दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरियाको पछिल्ला खुल्ला आलोचनात्मक व्यवहार र गतिविधिहरूका कारण दुई पक्षीय शिखर वार्ता गर्न अहिले उपयुक्त समय नभएको महशुस गरिएको छ ।”

यसअघि अमेरिकी उपराष्ट्रपति माईक पेन्सले सिंगापुरमा हुने भनिएको किम र ट्रम्पबीचको शिखर वार्ता हुने विषयमा शङ्का व्यक्त गरेका थिए भने उत्तर कोरियाले पेन्सलाई ‘अज्ञानी र मुर्ख’ को संज्ञा दिएको थियो । ट्रम्पको पत्र उत्तर कोरियाको यसै भनाईपछि आएको थियो । तर अमेरिकाले उत्तर कोरियाली नेतालाई लेखेको पत्रपछि उत्तर कोरियाली अधिकारी र अमेरिकी राष्ट्रपतिबीच सम्वाद नटुटाउने बिषयमा कुरा भएको भन्ने सूचनाहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?