पूर्व मलेसियाली प्रधानमन्त्रीको घरबाट झण्डै ३ करोड अमेरिकी डलर बरामद

एजेन्सी : मलेसियाली प्रहरीले पूर्वप्रधानमन्त्री नजिब रजकको घरबाट २ करोड ८६लाख अमेरिकी डलर बराबरको नगद बरामद गरेको छ ।

प्रहरीले यो रकम पूर्व प्रधानमन्त्रीका विभिन्न घरहरूबाट बरामद गरिएका नगदहरू जोडेर यो रकम बराबरको नगद भएको हो । प्रहरीले उनका विलासी ह्यान्डब्याग, घडी र गरगहनासमेत जफत गरेको छ । 

प्रहरीले पूर्वप्रधानमन्त्रीका विभिन्न घरमा छापा मारेर यो रकम बरामद गरेको हो । विकास कोषको हिनामिनासम्बन्धी अनुसन्धानको क्रममा यो छापामारी भएको हो । त्यो कोषबाट प्रधानमन्त्री भएका बेला रजकले करिब ७० करोड जम्मा गरेको आरोप लगाइएको थियो ।

गत साता उनको घरमा प्रहरीले छापा मारेको थियो । त्यसक्रममा २८४ बाकसबाट यो सम्पत्ति बरामद गरी जफत गरियो । मलेसियामा रहेका ३ अपार्टमेन्टको खानतलासी गरियो । दुई अपार्टमेन्टमा रजकका छोरा र छोरी बसिरहेका छन् । तेस्रो अपार्टमेन्ट खाली रहेको छ ।

मलेसियाको व्यापारिक अपराध विभागका प्रमुख अमर सिंहले  विभिन्न ठाउँबाट सम्पत्ति फेला परेको र यसको हिसाब पछि गरिने बताए ।

मलेसिया विकास कोषबाट भ्रष्टाचार भएको आरोपबाट पूर्वप्रधानमन्त्री रजक र उनको पार्टीको सामाजिक छवि कमजोर र खराब भएको थियो । निर्वाचनमा उनी पराजित भए ।

निर्वाचनबाट मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले नेतृत्व गरेको गठबन्धनले विजय प्राप्त गरेको थियो । महाथिर प्रधानमन्त्री भएपछि पूर्वप्रधानमन्त्री रजकको घर खानतलासी गरिएको हो ।
महाथिरले जनताको लुटिएको करोडौ रकम फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गरी चुनावमा भाग लिएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?