दार्चुला : जिल्लास्थित ६ वटा मुहानका पानीमा भौतिक, रासायनिक र जैविक प्रदूषणको मात्रा परीक्षणका गर्न धनगढी लगिएको छ । पानी परिक्षणको नतिजा ४८ घण्टाभित्र अाउनेछ ।
दार्चुलाका चमेलिया नदी, मालिकार्जुन गाउँपालिकामा रहेको पनेबाज मुहान, महाकाली नगरपालिकाको वडा नम्बर ७, धापमा रहेको पानी मुहान, वडा नम्बर ५, गल्फैमा रहेको पानी मुहान, गोकुलेश्वर बजारमा उपभोग भइरहेको पानी र जिल्ला सदरमुकाम खलंगामा उपभोग भइरहेको पानीको नमूना परीक्षणका लागि धनगढी लगिएको हो ।
क्षेत्रीय पानी प्रयोगशाला, धनगढीका केमिष्ट (रसायन शास्त्री) कृष्ण पौडेलले परीक्षणका लागि सोमबार जिल्लाका ६ वटा पानी मुहानबाट पानीको नमूना लगिएको जानकारी दिए। चमेलियाको पानी कुणी र कुष्काडाका बासिन्दाका लागी लिफ्ट प्रणालीबाट बस्तीमा पु-याइने हुँदा उक्त पानी परीक्षण गरिन लागेको उनको भनार्इ छ ।
पनेबाजमा रहेको पानी फोहर भएका कारण परीक्षणका लागि पानी प्रयोगशालामा लगिएको हो । सो ठाउँमा रहेको पानी मुहानबाट रातो रङको पानी आउने गरेको स्थानीयले बताएका छन् । यस्तै, अन्य ठाउँमा रहेका मुहानको पानीमा जैविक, रासायनिक र भौतिक प्रदूषणको मात्रा कति छ भन्नेबारे परीक्षण गरिने क्षेत्रीय पानी प्रयोगशाला, धनगढीले जानकारी दिएको छ ।
परीक्षणका लागि जिल्लाबाट लगिएका छवटा पानी मुहानको पानीमा प्रदूषणको मात्रा बढी देखिए उक्त ठाउँमा पानी प्रशोधन केन्द्र स्थापना गरी पानीलाई शुद्धीकरण गरिनेछ ।
जिल्लामा अहिले ९२ प्रतिशत धरधुरीले मात्रै धाराको पानी प्रयोग गरिरहेका छन् । जिल्लाका सबै घरधुरीमा शुद्ध पानी पु-याउने उद्देश्यले यस आवमा विभिन्न ठाउँमा गरी छ करोड ५४ लाख ४९ हजार लागतमा ८७ वटा खानेपानीका योजना निर्माणाधीन अवस्थामा छन् । अहिले जिल्लाका आठ प्रतिशत नागरिक कुवा, खोला तथा तलाउको पानी पिउन बाध्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया