एजेन्सी : उत्तर कोरियाली नेता किम जोङ उनका दाहिना हात मानिएका उत्तर कोरियाली अधिकारीले अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग न्यूयोर्कमा एक ऐतिहासिक शिखर सम्मेलनका बारेमा छलफल गरेकाछन् ।
चिनियाँ राजधानी बेइजिंगबाट एयर चाइनाको उडान सेवाबाट जनरल किम योङ चोल अमेरिका उडे । करिब २० वर्ष यता अमेरिकाको भ्रमणमा जाने उत्तर कोरियाली नेतामा सर्वाधिक शीर्षतहका नेता हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि १२ जुनमा हुने भनिएको शिखर सम्मेलनलाई खारेज गरेपनि दुबै पक्षबाट नयाँ प्रयास भइ सिंगापुरमा अमेरिकी र उत्तर कोरियाली राष्ट्रप्रमुख बीचको वार्ताका लागि शिखर सम्मेलनको योजना अगाडि बढाइएको हो ।
अमेरिकी विदेशमन्त्रीले जनरल किमसँग थप छलफल बिहीवारको खानामा गर्ने योजना बनाए ।
अमेरिकी कुटनीतिज्ञहरूले उत्तर कोरियाली विदेशदूतलाई पान्मुजममा भेटका छन् भने धेरै अमेरिकी कुटनीतिज्ञहरू शिखर सम्मेलनको तयारीका लागि सिंगापुर आइपुगेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले शिखर सम्मेलनका बारेमा ट्विट गरी भनेका छन् –हाम्रा वार्ताका लागि दुबै देशका महान टोली साथ मिलेर काम गरेका छन् । शिखर सम्मेलनका बारेमा बैठकहरू भइरहेका छन् । उत्तर कोरियाका उपनेता किम योङ चोल न्यूयोर्कका लागि हानिएका छन् । मेरो पत्रको ठोस प्रतिक्रिया देखियो । धन्यवाद ।”
अमेरिकी राष्ट्रपति कार्यालयका प्रवक्ता साराह स्यान्डर्सले अर्को महिनाको भेटघाटबारे योजना बनेको पुष्टि गरिन् । उनले भनिन्– राष्ट्रपतिले भन्दै गरे झै यो वार्ता हुन्छ हामी निश्चय नै यसका लागि तयार हुनेछौं ।”
यसक्रममा थप कुटनीतिक पहल देखा परेको छ । रुसले आफ्नो विदेशमन्त्री सर्जेइ लभारोभले बिहीबार उत्तर कोरियाको भ्रमण गर्ने घोषणा गरेको छ ।
लभारोभ र अमेरिकी विदेशमन्त्री पोम्पेओबीच पहिलो पटक टेलिफोन वार्ता बुधबार भयो ।
उत्तर कोरियाली उपनेता किम परमाणु सम्झौताकार र उत्तर कोरियाली नेता किम जोङ उनका विश्वासपात्र हुन् । परमाणु हातहतियार समाप्त पार्नेसम्बन्धी विषय मेचमा प्रवेश भएपछि उत्तर कोरियाले के गर्न सक्ने र के गर्न नसक्ने विषयमा पूर्ण जानकारी दिन सक्ने अधिकार प्राप्त व्यक्ति हुन उपनेता किम ।
उपनेता किमको यो अमेरिका भ्रमणले शिखर सम्मेलनमा उत्तर कोरिया र अमेरिका कहाँसम्मको यात्रा गर्न सक्छन् त्यसको तयारीको खाका तयर गर्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया