काठमाडौँ : काठमाडौँ उपत्यकामा साइबर अपराधका घटना बढ्दोरुपमा रहेका छन् ।
प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षको १० महिनामा एक हजार १७६ साइबर अपराधका घटना दर्ता भएका छन् ।
सामाजिक सञ्जाल विशेष गरेर फेसबुक, इमेल, ट्वीटर, युट्युब, एसएमएस, एटीएमलगायतबाट साइबर अपराधका घटना बढेका हुन् ।
साइबर अपराधमध्ये चालू आवको १० महिनामा ५४ जनालाई मुद्दा चलाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए ।
विभिन्न सामाजिक सञ्जालमा ३७, अरु व्यक्तिको पासपार्ट ह्याकिङ गर्ने दुई, नचाहिँदो कुरा लेखेर एसएमएस गरेर धम्की दिने ११, एसएमएस गरेर चिट्टा प-यो भनेर ठगी गर्ने तीन र युट्युबमा अनावश्यक कुरा राखेर चरित्र हत्या गर्ने दुईजनालाई मुद्दा चलाएको प्रहरीले जनाएको छ ।
साइबर अपराधमा लाग्नेमध्ये सबैभन्दा धेरै व्यक्ति १२ वर्षदेखि ४५ वर्षसम्मका रहेको महाशाखाले जनाएको छ । आवमध्ये चार वर्षको तथ्यांकलाई हेर्दा आव २०७१-०७२ मा ३०५, आव २०७२-७३ मा ८३० र आव २०७३-०७४ मा एक हजार १९७ मुद्दा महाशाखामा दर्ता भएका थिए ।
पछिल्लो समयमा उपत्यकालगायत देशभर साइबर अपराध बढ्दै गएपछि अागामी अार्थिक बर्षको बजेट वक्तव्यमा साइबर अपराध नियन्त्रण ब्यूरो स्थापनाका लागि बजेट विनियोजन गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया