महिनावारीको पिडामा पार्टनरलाई यसरी बनाउनुहोस् खुसी !

काठमाडौं – महिनावारी प्राकृतिक प्रक्रिया भएतापनि कुनै महिलालाई यो बेलामा असह्य पिडा हुन्छ । मानिसले ‘सामान्य त हो नि, जो पनि हुन्छ’ भनेर लिईदिने यस्तो समस्याले अति नै पिडा दिने महिलाहरुलाई यो समयसँग नै डर लाग्छ । हार्मोनको गडबडीका कारण मूड स्विङ हुने भएकोले उनीहरु रिसाउने, झर्कने, दिक्क मान्ने, बेखुसी हुने हुनसक्छन् । यदी महिनावारीमा अति नै पिडा हुने महिला तपाईको पार्टनर हुन् भने यस्तो बेलामा तपाईले उनलाई अझ बढी माया गर्नुपर्छ । तर अक्सर पुरुषलाई यो विषयमा थाहा नै हुँदैन । कुनै कुनै महिलामा यस्तो अतिशय पिडा किन हुन्छ ? तपाईको भूमिका के हुन्छ ? भन्ने विषयमा आज हामी तपाईलाई जानकारी दिन गइरहेका छौँ ।

महिनावारी भएको बेलामा महिलाहरुको हर्मोनमा परिवर्तन आउने गर्दछ जसले गर्दा उनीहरुलाई थकान, चिढचिढापन, कमज्वरो, वाकवाक लाग्ने, हातखुट्टै काम्ने, धेरै रगत जाने, आँखै हेर्न मन नलाग्ने अत्याधिक पेट दुख्नाले मुटु दुखेजस्तो महशुस हुने हुनसक्छ। तपाईं आफैँ सोच्नुहोस् कि यस्तो बेलामा उनले घरको सबै काम कसरी एक्लै गर्न सक्छिन् ? आफ्नी प्रेमिका /श्रीमती महिनावारी भएको बेलामा उनीप्रति थोरै संवेदना देखाएर उनलाई मद्दत गर्न सक्नुहुनेछ । यो बेलामा तपाईले गर्नुभएको सहयोगप्रति उनी कृतज्ञ हुनेछिन् । र माया थपेर दिनेछिन् । यस्तो बेलामा तपाईंले आफ्नो मान्छेलाई यसरी सहयोग गर्न सक्नुहुन्छ:

सम्झनुहोस् कि उनलाई यो समय कति पिडा हुन्छ : पेट दुखाई, ढाड दुखाई, टाउको दुखाई– यी सबै पिडाहरु कसरी एकैपटक सहन गरिरहेकी होलिन् । कतिपय अवस्थामा त महिलालाई ज्वरो पनि आउने गर्दछ । यतिबेला उनको आवश्यकताहरुलाई थाहा पाउनुस् ।

यस्तो बेलामा उनलाई भित्रबाट नै निकै नरमाइलो लाग्ने गर्दछ त्यसकारण तपाईंले उनलाई केहि कुराको बारेमा राम्रो महसुस गराउनुहोस् । उनलाई बताउनुस् कि ‘उनको अप्ठेरोमा तपाई साथसाथ हुनुहुनेछ ।’

महिनावारी भएको बेलामा श्रीमतीलाई घरको काममा मद्दत गर्नुहोस् । यसो गर्नाले उनको मानसिक तनावमा कमी आउने गर्दछ ।

उनलाई तनावमा भएको थाहा पाउनेबित्तिकै हलुका मसाज गरिदिनुहोस् । यसले उनको पिडालाई निकै राहत प्रदान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?