काठमाडौं । स्थापनाको रजत वर्ष मनाइरहेको नेपथ्य ब्याण्डले आगामी विदेश यात्रा अमेरिकाको गर्ने भएको छ । उक्त मुलुकको दक्षिणवर्ती राज्य टेक्सासको डालास सहरबाट सुरु हुने यस पटकको सांगीतिक यात्रा उत्तर–पूर्वी कुना बोस्टनमा पुगेर सम्पन्न हुनेछ ।अमेरिकाका यी दुवै महत्वपूर्ण सहरमा नेपथ्य पहिलो पटक प्रस्तुत हुन लागेको हो ।
यात्राको पहिलो प्रस्तुती जुन ९ तारिखका दिन डालास स्थित ‘द बम फ्याक्ट्री’ कन्सर्ट हलमा हुनेछ ।
‘नेपथ्यलाई डालासमा प्रस्तुत गर्न पाउँदा असाध्यै खुशी लागेको छ,’ आयोजक समूहका तर्फबाट डिजे मोमोले भने, ‘यो ब्याण्ड तीन वर्षअघि न्यूयोर्कमा कन्सर्टका निम्ति आएका बेलादेखि हाम्रो सहरमा पनि निम्त्याउने प्रयास गर्दै आएका थियौं ।’
ब्याण्डहरुको अन्तर्राष्ट्रिय प्रदर्शनका बेला अपनाइनु पर्ने ब्यवस्थापन सम्वन्धि अड्चनका कारण यो प्रकृया लम्बिन पुगेको उनले जानकारी दिए ।
‘त्यसपछि फेरि दुइ वर्ष अघि अमेरिका आइपुगेको नेपथ्यलाई भेट्न हामी आयोजना स्थल सान फ्रान्सिस्को पनि पुगेका थियौं,’ उनले थपे, ‘त्यति बेलै तय हुन सकेको कार्यक्रम मुताबिक डालासमा यसपटक आयोजना सम्भव भएको हो ।’
डालासमा बस्दै आएको नेपाली समुदायकै निम्ति यो खुशीको क्षण हुने उनी बताउँछन् । त्यहाँस्थित समूह ‘डिटी’ र ‘मोमो इन्टरटेनमेन्ट’ले नेपथ्य यात्राको व्यवस्थापन गर्दैछ ।
नेपथ्यले सामुहिक रुपमा पहिलो पटक सन् २००४ मा अमेरिकाको यात्रा गरेको थियो । त्यतिबेला ब्याण्डले एरिजोनाको फिनिक्स र राजधानी सहर वासिंगटन डिसीमा कन्सर्ट गरेको थियो । त्यसपछि पनि तीनपटक अमेरिकाको यात्रा गरिसकेको यस ब्याण्डले हालसम्म लस एन्जलस, एटलान्टा, न्यूयोर्क र सान फ्रान्सिस्कोका मञ्चहरुमा आफूलाई उभ्याइसकेको छ । ब्याण्डको यो पाँचौ अमेरिका यात्राहो ।
डालासमा आफूलाई प्रस्तुत गरिसकेपछि नेपथ्य समूहले केहि रेकर्डिङ सम्वन्धि परामर्शका कामहरुमा आफूलाई ब्यस्त राख्नेछ । त्यसपछि चाहिँ ब्याण्ड जुन २४ तारिखका दिन बोस्टनको ‘रोयाल बोस्टन हल’तताउनका लागि त्यस तर्फ जानेछ ।
‘नेपथ्य हरेक पटक नजिकैको न्यूयोर्क सहरमा कन्सर्टका निम्ति आउँदा हामी साथीभाइहरु आफ्नो सहरमा यो ब्याण्डलाई कसरी ल्याउने भनेर चर्चा गथ्र्यौं,’ आयोजक बोस्टन तमु समाजकी सम्झना गुरुङ भन्छिन्, ‘यसपटक भने ‘जात्रा नेपाल’मा आवद्ध हाम्रा साथीहरु यस ब्याण्डको सम्पर्कमा आएको थाहा पाउने बित्तिकै यो मौका हामीले छोपेका हौं ।’
बोस्टनको कन्सर्ट ‘जात्रा नेपाल’ र ‘बोस्टन तमु समाज’ले मिलेर आयोजना गर्न लागेका हुन् ।
‘अन्ततःबोस्टनमा पनि नेपथ्य आउन लागेकामा असाध्यै खुशी लागिरहेको छ,’ अर्का आयोजक जात्रा नेपालका उज्ज्वल धौभडेल भन्छन्, ‘सम्पूर्ण प्राविधिक तयारीहरु सम्पन्न गरिसकेका छौं र यो कन्सर्टलाई अविष्मरणीय बनाउनका निम्ति हामीले कुनै कसर बाँकी राख्ने छैनौं ।’
नेपथ्यले स्थापनाको २५ औं वर्ष उत्सवकै श्रृंखलामायी दुवै कन्सर्ट पनि अटाउने छन् ।
‘रजत वर्षका क्रममा हामीले नेपाल भित्र र बाहिर थुप्रै यात्रागर्दै आएकोमा संसार भरि छरिएर रहेका नेपथ्य प्रेमीहरुले देखाउनु भएको माया र सद्भावका प्रति हामी आभारी छौं,’ ब्याण्डका मुख्य गायक तथा अगुवा अमृत गुरुङ भन्छन्, ‘बोस्टन र डालासका नेपाली दाजुभाइ दिदीबहिनीहरुका अगाडि नेपालीपनको नेपथ्य प्रस्तुत गर्ने क्षण हामी उत्साहका साथ प्रतिक्षा गरिरहेका छौं ।’
गैरआवासीय नेपालीहरुको संगठन‘एनआरएन’काअनुसार अमेरिकामै उल्लेख्य संख्यामा नेपालीहरुको बसोबास रहेका सहरको रुपमाडालास रबोस्टन चिनिन्छन् ।
‘नेपथ्यको कार्यक्रममा गैर नेपाली दर्शकको उपस्थिति बढ्दो छ, यो क्रम डल्लास र बोस्टनमा पनि अपेक्षा गरेका छौँं,’ नेपथ्यलाई प्रस्तुत र प्रवद्र्धन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘हामी अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुलाई उतै जन्मे हुर्केका दोश्रो पुस्तालाई साथै ल्याएर उनीहरुको पहिचानसँग नजिक्याउने सुझाव पनि दिन्छौं ।’
भ्रमण दलमा मुख्य गायक अमृतलगायत सांगीतिक, प्राविधिक र व्यवस्थापन टोली साथै रहनेछ ।
डालास रबोस्टनको कार्यक्रम पछी नेपथ्य टोलीजुन २७तारिखमा काठमाडौं फर्किने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया