म्याग्दीको बिममा जाँडरक्सी प्रतिबन्ध

बाबियाचौर : म्याग्दीको मालिका गाउँपालिका–७ बिममा मदिरा प्रतिबन्ध लगाउने निर्णय भएको छ । 

वडा कार्यालयमा शनिबार आयोजित जनप्रतिनिधि, युवा क्लब, आमा समूह र अगुवाको भेलाले विवाह, छेवार, किरियालगायत संस्कारगत कार्य तथा सार्वजनिकस्थलमा जाँड, रक्सीलगायत मदिरालाई प्रतिबन्ध लगाउने निर्णय भएको हो । वडाध्यक्ष रेशम जुक्जालीले सरोकारवालाको सुझाव र सर्मथनमा भएको निर्णय कार्यान्वयन गरेर बिमलाई विकृतिरहित नमूना वडा बनाउने बताए । 

भेलाले वडाका सबै बस्तीलाई समेट्ने गरी बिम्वाङ, बिम औल, तल्लोगाउँ, डाँडागाउँ र ढुनोटमा टोल सुधार समिति गठन गरी सामाजिक र विकास निर्माणका कामलाई सहज बनाउने निर्णय गरेको वडा सदस्य बुद्धीबहादुर जुक्जालीले जानकारी दिए । 

यसअघि स्थानीय आमा समूह र युवा क्लबले बिम्बाङ र तल्लो गाउँमा सार्वजनिक कार्यक्रममा मदिरालाई प्रतिबन्ध लगाएको थियो । साँझ ५ बजेभन्दा अघि मदिरा सेवन गर्नेलाई एक हजार रूपैयाँ र बिक्री गर्नेलाई दुई हजार रूपैयाँ जरिवाना तोकिएको हीराजीत स्मृति युवा क्लबका अध्यक्ष प्रेम जुक्जालीले बताए। 

मदिराको अत्यधिक र अव्यवस्थित प्रयोगका कारण संस्कारगत कार्य महँगो भएको, सामाजिक विकृति बढेको र सुरक्षामा असर परेको ठहर गर्दै मदिरालाई प्रतिबन्ध लगाउने निर्णय भएको हो । 

सोही भेलाले मालिका क्षेत्रको राष्ट्रिय वनलाई वडास्तरीय सामुदायिक वन समूहको मातहत ल्याउने निर्णयसमेत गरेको छ । सो भेला अघि वडास्तरीय युवा सञ्जालको आयोजनामा लागूऔषध दुव्र्यसन न्यूनीकरणसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?