खोटाङ जिल्लाका सबै स्थानीय तह बैंकिङ पहुँचमा जोडिँदै

खोटाङ । जिल्लाका सबैजसो स्थानीय तहमा बैंकिङ सुविधा विस्तार हुने भएपछि स्थानीयवासीलाई सहज भएको छ । 

स्थानीय तह कार्यान्वयनमा आए पनि बैंकिङ सेवा नहुँदा सदरमुकाम धाउनुपर्ने अहिलेको अवस्थामा क्रमशः स्थानीय तहमै बैंकिङ सेवा विस्तार हुँदै गएपछि सहजता आएको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने सदरमुकाम दिक्तेल बजारमा मात्र केन्द्रित बैंकहरु पछिल्लो समय खोटेहाङ गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका हुँदै अन्य गाउँपालिकामा विस्तार भएपछि स्थानीय निकायलाई सहज भएको छ । 

स्थानीय तह कार्यान्वयनमा आएसँगै जिल्लाको ऐँसेलुखर्क गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंक र यसअघि नै राष्ट्रिय वाणिज्य बैंकको शाखा रहेको खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा साल्पा विकास बैंक सञ्चालनमा आएपछि सरकारी कामकाज तथा स्थानीयवासीलाई सजिलो भएको स्थानीय जनप्रतिनिधि बताउँछन् । 

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा कृषि विकास बैंक र साल्पा विकास बैंक, उत्तरी क्षेत्रको रावाबेँसी गाउँपालिका–३ लामिडाँडामा सेन्चुरी कमर्सियल बैंक र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२, डाँडागाउँ ओख्रेमा सानिमा विकास बैंक सञ्चालन भएको छ । हलेसी तुवाचुङमा हालैमात्र माछापुच्छे बैंक स्थापना भएको छ । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको केपिलासगढी, बराहापोखरी र साकेला गाउँपालिकामा पनि बैंक स्थापनाको तयारी अन्तिम चरणमा पुगेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । “सबै स्थानीय तहमा बैंक स्थापना गर्ने सरकारको योजना छ ।” उनले भने, “जिल्लाका बाँकी स्थानीय तहमा आगामी असार मसान्तभित्र स्थापना गरेर कारोवार शुरु हुन्छ ।” 

स्थानीय तहमै बैंक स्थापना भएपछि कर्मचारीको तलब, विकास निर्मार्णको भुक्तानी, सामाजिक सुरक्षा भत्तालगायतका लागि दुई दिनसम्म पैदल यात्रा गरेर सदरमुकाम दिक्तेल जानु÷आउनुपर्ने बाध्यता हटेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए । 

“बैंक नहुँदा गाउँपालिकामा चेक बनाएर भुक्तानी लिन दुई पैदल हिँडेर सदरमुकाम दिक्तेल पुग्नु पथ्र्यो ।” उनले भने, “अहिले पालिकामै बैंक सञ्चालन भएपछि समय र खर्च दुवैको बचत भएको छ ।” 

दिक्तेल बजारमा रहेको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, बैंक अफ काठमाण्डु, सेन्चुरी कमर्सियल बैंक र हलेसी तुवाचुङ नगरपालिकामा रहेकोे माछापुच्छे बैंकलगायत आधा दर्जन ‘क’ वर्गका बैंक र अन्य ‘ख’ वर्गका सालपा विकास बैंक, ज्योति विकास बैंकलगायत एक दर्जनभन्दा बढी वित्तीय संस्था छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?