पूर्व विश्व नम्बर एक अमेरिकी सेरेना विलियम्सले जारी फ्रेन्च ओपन टेनिस प्रतियोगिता त्यागेकी छिन्।
२३ पटककी ग्राण्डस्लाम विजेता सेरेनाले आफु घाइते भएका कारण रसियाकी मारिया सारापोभा विरुद्धको चौथो चरणको खेल नखेल्ने बताएकी हुन् । सेरेना बच्चालाई जन्म दिएपछि राम्रो फर्ममा छैनन् । तर पछिल्लो समय उनलाई मांसपेसीमा समस्या आएपछि खेल त्याग्न बाध्य भएकी हुन् ।
उनको यो समस्याले विम्बल्डन टेनिस पनि गुम्न सक्ने खतरा बढेको छ । ३६ वर्षिय सेरेनाले ११ औ वरियताकी जुलिया गोर्गेस विरुद्धको तेस्रो चरणको खेलका दौरान यस्तो समस्या देखा परेकी बताइन् ।
महिला डबल्सतर्फ आफ्नै दिदी भेनस विलियम्ससँग खेल खेलेकी सेरेनाले अहिलेसम्म यस्तो समस्या खेल जिबनमा नदेखेको जानकारी दिइन् । सारापोभाले सेरेनाको शिघ्र स्वास्थ लाभको र चाडै कोर्टमा फर्किन कामना गरिन् । दुई पटककी फ्रेन्च ओपन च्याम्पियन सारापोभाले अघिल्लो चरण प्रवेशको लागी सन् २०१६ की विजेता गार्बिन मुगुरुजासँग प्रतिस्पर्धा गर्नेछिन् ।
यता आइतबारराती नै भएको अर्को खेलमा रसियाकी डारीया कासात्कीनाले विश्व नम्वर दुई डेनमार्ककी क्यारोलिन वाज्नियास्कीलाई दुई—शुन्यको सोझो सेटमा पराजित गदै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भइन् । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा कासात्कीनाले वज्नियास्कीलाई ट्राइब्रेकरमा ७—६ र दोस्रो सेट ६—३ ले आफ्नो पक्षमा पारेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया