२ नम्बर प्रदेशको सरकारको भविष्यबारे चर्चा भइरहँदा बोले मुख्यमन्त्री

रौतहट । प्रदेश २ का मुख्यमंत्री मो. लालबाबू राउत गद्दीले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल गठबन्धनको सरकार पाँच वर्षसम्म रहने बताएका छन् । 

रौतहटको सदरमुकाम गौरमा संघीय प्रेस फोरम जिल्ला समिति कार्यालयको उद्घाटन पश्चात् आयोजित पत्रकार सम्मलेनमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले फोरम नेपाल संघीय सरकारमा सहभागी भएपछि प्रदेश  २ मा सरकार परिवर्तन हुने हल्ला निराधार भएको बताउँदै कुनै पनि हालतमा सरकार नफेरिने दावी गरे ।

 केही संचार माध्यमले गलत हल्ला फैलाएकोले त्यसको पछि नलाग्न आग्रह गर्दै जनताले दिएको म्यान्डेड अनुसार गठबन्धनको सरकार ५ वर्षसम्म रहने ठोकूवा गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा ७ करोड खर्च भएको संचारकर्मीको प्रश्नको जवावमा मुख्यमन्त्री राउतले रकम भुक्तानी नै नहुँदै ७ करोड खर्च कसरी भयो भने प्रश्न गरे । उनले भने, ‘केही मधेश विरोधी मानसिकता भएका पित पत्रकारिता गर्ने मीडियाले निराधार समाचार प्रकाशन गरेर भ्रम फैलाएको हो ।’ संघीय सरकारको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी जनकपुर आएको र केन्द्र सरकारले १ रुपैयाँ पनि नदिएको र भएको खर्चको भुक्तानी हुन अहिलेसम्म बाँकी नै रहेकोमा ७ करोड खर्च कसरी भयो जिकिर गरे । प्रदेश २ को सरकार भ्रस्टाचार अन्त गर्दै सुशासनयुक्त सरकार हुने दावी गरे ।

मुख्यमन्त्री राउतले त्रुटिपूर्ण संविधान संशोधनको निमित संघीय सरकारमा फोरम सहभागी भएको प्रस्ट गरे । कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रदेश सांसद महमद अब्बुल कलाम आजाद, राम सिहासन चौधरी, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष एवं देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेल, गौर नगरपालिकाका प्रमुख अजय गुप्ता, माधव नारायण नगरपालिकाका प्रमुख वीरेन्दर यादव, प्रदेश सदस्य बृजकिशोर यादव लगायतका जिल्ला स्तरीय नेताहरु सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?