फिफा विश्वकप फुटबलको पुरस्कार राशी कति छ भन्ने कुरा सबै खेलप्रेमीहरुको चासो र जिज्ञासाको विषय हो ।
अन्तराष्ट्रिय फुटबल महासंघ फिफाले रसियामा हुने विश्वकपमा दिने पुरस्कार राशी चालिस करोड अमेरिकी डलर अर्थात ४३ अर्ब भन्दा बढी नेपाली रूपैयाँ रहेको छ ।
यो सन् २०१४ को ब्राजिल विश्वकपको तुलनामा १२ प्रतिशतले बढेको हो । ब्राजिलमा सम्पन्न भएको विश्वकपमा ३५८ मिलियन अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले ३५ मिलियन अमेरिकी डलर पाएको थियो ।
यो पटक विजेताले ३८ मिलियन अमेरिकी डलर अर्थात ४ अर्ब भन्दा बढी नेपाली रकम पाउनेछन् । त्यस्तै, उप–विजेताले २८ मिलियन डलर पाउनेछन् । यसअघि ब्राजिल विश्वकपको उपविजेता अर्जेन्टिनाले २५ मिलियन अमेरिकी डलर पाएको थियो ।
तेस्रो हुनेले २४ मिलियन अमेरिकी डलर तथा चौथो हुनेले २२ मिलियन अमेरिकी डलर पाउने छन् । यता क्वाटरफाइनलबाट बाहिरिने ४ वटा टिमले १६—१६ मिलियन डलरका दरले पुरस्कार पाउनेछन् । प्रिक्वाटरफाइनलबाट बाहिरिने ८ टिमले १२—१२ मिलियन अमेरिकी डलरका दरले पाउनेछन् भने यस्तै समूह चरणबाट बाहिरिने १६ वटा टिमले ८—८ मिलियन पाउनेछन् ।
यस पटकको विश्वकप फुटबलमा आयोजक रसिया सहित ३२ राष्ट्रले सहभागिता जनाउदैछन् । प्रतियोगिता जेठ ३१ गतेदेखि असार ३० सम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया