मसँगै आमा पनि रातभरि रुनुहुन्थ्यो: मनिषा कोइराला

मुम्बई । राजसी परिवारमा जन्म, अद्भुत काम, बेकअप, क्यान्सर जस्तो ज्यान लिने बिमार र त्यही बिमारसँग लडेर फाइटरजस्तै फेरि पलाउनु, मनिषा कोइरालाको जीवनका कैयन् उतारचढाव  छन् ।

आजभोलि भारतमा चर्चाको विषय बनेको छ फिल्म ‘सञ्जु’ को ट्रेलर । जुन फिल्ममा उनी सञ्जय दत्तकी आमा नगरिस दत्तको भूमिकामा देखिँदैछिन् । विभिन्न आरोह अवरोहबाट फेरि फर्केकी मनिषाले कैयन् पटक धोका पाएकी छिन् । तर, उनी ती धोकाहरुलाई शक्तिमा बदलेकी छिन् ।

उनले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘सम्बन्धको कुनै ग्यारेन्टी हुँदैन, तपाईंको जिन्दगीमा कोही राम्रो व्यक्ति आओस् या नआओस् तर आफूले राम्रो गरिएको छ भने दुःखी अवश्य भइन्छ, तर टुटेर बिग्रनु भएन ।’ उनले भनेकी छिन्, ‘यदि कसैलाई मेरो सच्चापन, मेरो खुबी र प्रेम पच्दैन भने मलाई हैन, उसलाई नोक्सान हुने हो, म आफूलाई बिचारी किन सम्झूँ?’

'हरेक सम्बन्धले केही न केही सिकाउँछन्, तपाईंको जिन्दगीमा ब्रेकअप र डिभोर्सले के सिकायो?' भन्ने प्रश्नमा उनले दिएको उत्तर थियो त्यो ।

साथै उनले क्यान्सर हुँदा आफूलाई परिवारले सहारा दिएको बताएकी छिन् । ‘म आफूलाई भाग्यशाली किन मान्छु भने मसँग एक यस्तो परिवार छ, जो मेरो सबैभन्दा ठूलो आधार हो, क्यान्सरको बिमारीमा केही यस्ता दिन पनि आए कि, म रातभरि रोएकी थिएँ, मलाई याद छ, एकपटक त म धेरै डिप्रेसनमा पनि परें,’ उनले शेयर गरेकी छिन्, ‘एकपटक यति धेरै पीडा भएको थियो कि, मैले आमालाई यो हालतमा जिउँदो रहन नचाहेको समेत भनें, त्यो दिन मसँगै आमा पनि रुनुभएको थियो ।’

उनले भनेकी छिन्, ‘आमाले रुँदै भन्नुभएको थियो, तिम्लाई हाम्रा लागि भएपनि बाँच्नुपर्छ, आफूलाई सम्हाल, तिमीलाई केही भयो भने हामीले कसलाई हेर्ने?’

आमाको यही भनाइले आफूलाई हिम्मत दिएको उनले बताएकी छिन् ।

बलिउडमा लोकप्रिय मनिषा कोइराला नेपाली हुन् । लामो समय क्यान्सरले ग्रसित मनिषा अहिले भने फिल्ममा कमब्याक भएकी छिन् । उनी अभिनित फिल्म ‘सञ्जु’ रिलिजको क्रममा छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?