काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पदबाट राजीनामा दिएका छन् ।
इन्धन भण्डारणको लागि जग्गा खरिद गर्दा भष्टाचार काण्डमा मुछिएपछि मन्त्रालय तानिएका खड्काले बिहीबार पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् ।
कार्यकाल ६ महिना बाँकी हुँदा राजीनामा दिएका खड्काले निगमलाई मार्गप्रशस्त गर्न यस्तो निर्णय गरिएको बताए ।
उनले भने, ‘मैले राम्रो नियतले नै पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन पहल गरेको थिएँ । तर, देशी विदेशी शक्ति र अन्य समूहले म विरुद्ध खनिएर बद्नाम गरे ।’
उनले आफूलाई गत कात्तिकमा मन्त्रालयमा तानेर जिम्मेवारी बिहीन बनाएकोले यो पदमा बसिरहन उपयुक्त नभएको बताए । उनले भने, ‘मलाई मन्त्रिपरिषद्ले हटाए पनि सर्वोच्चले मेरो लागि स्टे अडर जारी गरेको थियो । र, म हाजिर भएँ । हाजिर भएपछि पनि मलाई कुनै जिम्मेवारी दिइएन । मेरो मनोबल गिराउने काम मात्र भयो । त्यसैले मैले राजीनामा दिएँ ।’
उनले आपूर्ति मन्त्री मातृका यादवलाई राजीनामा पत्र बुझाउन गएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया