कर्णालीमा ‘हेल्लो मुख्यमन्त्री’ हटलाईन सेवा सुरु

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीको समृद्धिको लागि सूचना प्रविधिको प्रयोगमा जोड दिईने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको जनतासँग मुख्यमन्त्री कार्यक्रम अन्तरगत हेल्लो मुख्यमन्त्री हटलाईन सेवा र वेवसाईट सुभारम्भ कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले सुचना प्रविधिको प्रयोग मार्फत प्रदेश समृद्धिको लागि सरकार र जनताबीच हातेमालो गर्ने बताएका हुन् ।

उनले हटलाईन सेवाले कर्णाली प्रदेशको विकास, समृद्धि र समृद्धिका लागि नागरिकको सहयोग र सहभागितालाई सुनिश्चित गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

हरेक नागरिकलाई सरकार आफनै घरआँगनमा रहेको प्रत्याभुति दिलाउन र सरकारको सेवा प्रवाह तथा विकास निर्माणमा उनीहरुको सल्लाह, सुझाव र गुनासोको सम्वोधन गर्न यो सेवा शुरु गरिएको मुख्यमन्त्री शाहीको भनाई छ । 

हेल्लो मुख्यमन्त्री हटलाईन सेवाको सुभारम्भसँगै मुख्यमन्त्री महेन्द्रवहादुर शाहीलाई फोन गरेर नरहरीनाथ गाउँपालिका वडा नं. ९ कालिकोटका प्रेम सार्कीले वडा सदस्य समेत रहेकी आफनी आमा मना सार्कीको हत्याका सम्वन्धमा छानविन गरि दोषिलाई कारवाही गर्न माग गरे ।

त्यसैगरि रुकुम पश्चिम मुसीकोट नगरपालिकाका दिपक वाँठामगरले त्रिभुवन जनता आधारभुत विद्यालय भवन र साना सहरी खानेपानी आयोजनाको निर्माण कार्यमा चरम लापरवाही भएको तथा वर्षौं देखि निर्माण कार्य अलपत्र रहेको गुनासो गरे ।

मुख्यमन्त्री शाहीले दुवै समस्या सामाधानका लागि सम्वन्धित निकायलाई निर्देशन दिएका छन् ।

१०९६ नम्वरको हटलाईन सेवामा नागरिकले फोन गर्दा पैसा नलाग्ने व्यवस्था गरिएको छ । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आधिकारीक वेवसाईट http://ocmcm.karnali.gov.np मा कर्णाली प्रदेश सरकारसंग सम्वन्धित सवै सूचना उपलब्ध गराईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?