प्रेरणा तिमल्सिना
‘मलाई आईसक्रिम दोकानमा लग्यो । मेरो खुट्टाबाट तरर रगत चुहिँदै थियो । उसले मलार्ई आईसक्रिम किनिदियो ।’
९ वर्षको कलिलो उमेरमा तपाईँ कस्तो हुनुहुन्थ्यो ? आमाको पछ्यौरी समाएर काम गरिरहेको ठाउँमा डिस्टर्ब गर्नुहुन्थ्यो, बाबालाई घर फर्किँदा जसरी नि मिठाई ल्याइदिनु भनेर झगडा गर्नुहुन्थ्यो, सलको सारी लगाएर साथीहरुसँग भाँडाकुटी खेल्नुहुन्थ्यो । यसै गरी बित्यो तपाईँको बाल्यकाल ।
हो त्यही कलिलो उमेरमा एउटी नौँ वर्षे फुच्ची बलत्कृत भई ! आफ्नै दाजुद्वारा !
अब तपाईको गाउँमा, ठाउँमा वा देशमा सम्झनुहोस् बलात्कृत हुनेहरु कसरी बाँचिरहेका छन् ? वा उनीहरुलाई कसरी बाँच्न सिकाइएको छ ? रोएर, कराएर, चिच्चाएर ? कि आत्महत्या गरिसके ? अनि तपाईँ स्वयम् पनि बलात्कृत हुनेहरुलाई विचरा, कठैबरा वा च्व च्व च्व ! भन्दै सहानुभुतिको नजरले हेर्नुहुन्छ ।
तर ‘ओप्रा विन्फ्रे’ ले तपाईको च्व.. च्व.. च्व …लाई वाह वाह मा बदल्न सफल भईसकिन् । हो, त्यही नौँ वर्षे दाजुद्वारा बलत्कृत फुच्ची आज संसारकै प्रभावशाली महिलाका रुपमा स्थापित छिन् । २० औँ शताब्दीकी सर्वाधिक धनी एफ्रो–अमेरिकन ‘ओप्रा विन्फ्रे’ । उनलाई ‘क्वीन अफ अल मिडिया’ भन्ने उपाधि दिइएको छ । आफ्नो इतिहासकै सर्वोत्कृष्ट टिभी टक शो ‘द ओप्रा विन्फ्रे शो’ बाट विन्फ्रेले ‘मिडिया वल्र्ड’ लाई आफ्नो मुठ्ठीमा लिइन् ।
विन्फ्रेको जन्म जनवरी २९, १९५४ मा मिसिसिपीको एक विकट गाउँमा भयो । उनकी आमा अर्काको घरमा काम गर्थिन् भने बुवा हजम थिए । उनको बाल्यकाल चरम् गरिबीमा बित्यो । ९ वर्षको उमेरमा उनी आफ्नै दाजुद्वारा बलत्कृत भईन् । आफुसँग के भयो नै थाहा नपाउने उमेरकी विन्फ्रेलाई उनका बलात्कारी दाजुले बलात्कार गरिसकेपछि आईसक्रिम किनिदेका थिए रे !
१० देखि १४ वर्षको उमेरसम्म उनले आफ्नै अंकल, दाजु, नातेदार बाट शारीरिक दुव्र्यवहार भोग्नुपर्यो । यति मात्र नभएर १४ वर्षको कलिलोे उमेरमा उनी गर्भवती पनि भईन् । दुर्भाग्यवश उनको बच्चाको जन्मन साथ मृत्यु भयो ।
गरिबी, पीडादायी बाल्यकाल, बलात्कार, सानै उमेरमा गर्भधारण, बच्चाको मृत्यु ! जीवनमा एउटा मान्छेले योभन्दा बेसी त के नै भोग्नपर्छ होला र ? यसरी सानै उमेरमा विन्फ्रेले दुःख, पीडाको सगरमाथा नै आरोहण गरिन् ।
उनी भन्छिन् –“म मेरो जीवनको एक अंश पनि बदल्न चाहन्न । ती सबै उतारचढावकै कारण आज म यो ठाउँमा छु ।”
कस्तो थियो त विनफ्रेको ‘रोडदेखि करोडौँ करोड’ सम्मको यात्रा ?
उनले आफ्नो करियर १९ वर्षको उमेरदेखि स्थानीय रेडियोमा साँझको समाचार भनेर सुरु गरिन् । एउटा ‘पब्लिक स्पिकिङ्ग’ प्रतियोगीतामा प्रथम भएर उनले टेनसी विश्वविद्यालयमा छात्रवृत्ति पाईन् । उनको उत्कृष्ट प्रस्तुतिका कारण उनलाई ‘पिपल आर टकिङ्ग’ नामक टक शो कार्यक्रम सञ्चालन गर्न दिइयो ।
गणनामै नआउने त्यस कार्यक्रमलाई उनले केही समयमै ‘नं वान’ बनाउन सफल भईन् । केही वर्ष त्यही कार्यक्रम चलाएर उनले आफ्नै प्रोडक्सन कम्पनी सञ्चालन गरिन् । जस अन्तर्गत विन्फ्रेले सन् १९८६ देखि २०११ सम्म ‘द ओप्रा विन्फ्रे शो’ चलाएर आफूलाई ग्लोबल स्टार का रुपमा स्थापित गरिन् ।
उनको करियरको सुरुवातमा उनकै सहकर्मीलाई उनलाईभन्दा धेरै पारिश्रमीक दिइन्थ्यो कारण : ऊ पुरुष थियो । यस विरुद्ध उनले आफ्नो हाकिमसँग पनि कुरा राखिन् तर हाकिमले अनेक बहाना तेर्साएर उल्टै उनैलाई गलत साबित गरे । केही नभनी त्यहाँबाट निस्किन् । उनी सामान्य कर्मचारी थिइन् । उनलाई थाहा थियो कि त्यहाँ उनको कुरा बिक्ने थिएन ।
केही वर्षपछि उनी सफल भईन् । आफ्नो हाकिमलाई आफ्नो मात्र नभएर सबै महिला कर्मचारीको पारिश्रमीक बढाउने माग राखिन् । उनको मागलाई अस्वीकार गर्दा उनले शो नै छोड्ने जस्तो कुरा गरिन् । उनको हाकिमले हत्तपत्त उनको मागलाई स्वीकारे ।
त्यस दिन उनले थाहा पाईन् : जीवनमा सबै कुरा प्राप्त गर्न सकिन्छ तर एकैचोटी होइन ।
विनफ्रेका केही प्रेरक भनाईहरु :
– जब तिमी आफ्नो कामलाई कम महत्व दिन्छौ तब संसारले तिमीलाई कम महत्व दिन्छ ।
– आफूसँग जे छ त्यसप्रति कृतज्ञ हौ, त्यसको दोब्बर पाउने छौ । आफूसँग जे छैन त्यसमा ध्यान दियौ भने पाउनु पर्ने जति नि पाउने छैनौ ।
– आफ्नो चोटलाई चेतनामा परिवर्तन गर ।
– आफ्नो वरिपरि सधैँ त्यसतो मान्छे राख जसले तिमीलाई माथि उठ्न प्रेरित गर्छन् ।
– तिमी जे चाहान्छौ त्यो हुँदैनौ, तिमी जे विश्वास गर्छौ त्यही हुन्छौ ।
विन्फ्रे शताब्दीकै सर्वोत्कृष्ट ‘फिलान्थ्रोपिस्ट’ (च्यारिटी, डोनेसन गर्ने) मानिन्छिन् ।
उनी चाहन्छिन् कुनै बालबालिकाले उनीजस्तो दर्दनाक अवस्थाबाट गुज्रिनु नपरोस्, कुनै छोरीले शिक्षा र अवसरको कमीले गर्दा आफ्नो सपनाबाट वञ्चित हुन नपरोस्, संसारमा गरिबी, भोकमरीका कारण कसैले ज्यान गुमाउनु नपरोस् ।
त्यसैले द एन्जल नेटवर्क, प्रोजेक्ट कडल, फ्री द चिल्ड्र्न, पिस ओभर भायलेन्स, क्लिन्टन प्रोजेक्ट आदिजस्ता दजर्नौँ प्रोजेक्टमा उनी अर्बौँ पैसा डोनेट गर्छिन् ।
उनको व्यक्तित्वको प्रभाव यतिसम्म छ कि कैयौँ अमेरिकी नागरिक उनलाई त्यहाँको राष्ट्रपति भएको हेर्न चाहन्छन् ।
थिन्क वान्स ! हाम्रो समाजमा पनि अनेकौँ बलात्कृत ओप्राहरु छन् जसलाई हाम्रो च्व च्व होइन ‘यु क्यान डु इट’ को आवश्यकता छ । सहानुभुतिको होइन साहसको आवश्यकता छ ।
त्यसैले सोच बदलौँ, समाज आफैँ बद्लिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया