खासमा मान्छे बाँच्छ, उसका असल कर्महरुमा । कर्मको तराजुमा अजर अमर जीवन बाँचिसकेका ज्यूदा नेपाली चिकित्सक हुन् वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटा ।
देवकोटाले जति प्रोफेसनल जीवन बिताए, त्यो सबै बिरामीहरुका हात र साथमा बिताए । आफैँ बिरामी नपरुन्जेलसम्म उनले असल, सफल र उन्नत जीवन बाँचे ती हजारौं बिरामीहरुका साथ । धेरैलाई मृत्युको मुखबाट पनि फर्काइदिए । तर, पनि उनी आफैँ मृत्युको डिलमा छन् यतिबेला ।
त्यसैले त भौतिक जीवनको यो उत्तरार्ध घडीमा उनी अलि बढी संसार हेर्न लालायित छन्, निष्ठुर यमराज उनलाई स्वागत गर्न आतुर छ । विज्ञानले दिएका सबै उपलब्धिहरुका साथ सहयोगले उनको मृत्युसँगको लडाई लम्बिदो छ, पराजय उन्मुख भने छैन । कामना न हो, उनको भौतिक शरीरलाई केही नहोस् भन्ने, तर त्यो अवश्यम्भाविक छ ।
मरणशील मानव चोलामा बाँचेका डा. उपेन्द्र देवकोटा मात्रै अपवाद होइन्न, थिएनन् की उनी अजम्वरी रहूँन ।
म मर्छु भन्ने चेतना पहिल्यै अनुभूत गरेर नै डा. देवकोटा विदेशको उपचार छोडेर स्वदेश आए, आफ्नै मर्जिमा ।
आफ्नो देशको माटोलाई चन्दन सम्झेर जुन माटोमा जन्मिए, त्यही माटोमा प्राण त्याग गर्ने डा. देवकोटा खासमा असल देशभक्त हुन् । उनी सफल र चर्चित कर्मवीर चिकित्सक त थिए नै ।
उनको माटोप्रतिको माया देशलाई माया गर्छु भन्नेहरुका लागि एक उदाहरण पनि हो ।
जीवनको आखिरी घडीमा उनले जन्मथलो गोरखाको दर्शन गर्न चाहे । सोही अनुसार उनलाई जन्मथलो घुमाएर अस्पताल ल्याउने काम पनि शनिवार मात्रै गरिएको छ । जीवन हो मान्छेको ।
जन्मनुको अर्को रुप मृत्यु हो । त्यो आत्मासात गर्नु नै छ, जो कोहीले पनि । मृत्युबोधको आखिरी घडीमा बिरामीलाई उसका अन्तिम ईच्छाहरुको कामगर्न दिने हिन्दु संस्कार पनि हो ।
त्यही चरणमा गुज्रिरहेका छन् वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा अहिले । त्यसैले अहिलेका हकमा उनको प्राणले सहज रुपमा शरीर छाडोस् भन्ने मात्रै कामना गर्न सकिन्छ ।
उनी शरीर पूर्ववत फर्किउन भन्ने त ईमोसन्ल चाँह मात्रै हुन् ।
तर शुक्रबार मध्यरातमा उनको मृत्युको अपुष्ट खबर सामाजिक सञ्जालमा जुन बिजुली गतिमा हावासरी फैलियो, यसले सामाजिक सञ्जालको विश्वसनियतामाथि धेरै कोणबाट प्रश्न उठाएको छ ।
परिवार र अस्पतालले कुनै दुखद खबरको पुष्टि नगर्दै उनीप्रति शोक व्यक्त गर्नेहरुको भीड जसरी सामाजिक सञ्जालमा उर्लियो, त्यसले अधिकांश सामाजिक सञ्जालका प्रयोगकर्ता नेपालीहरु कागले कान लग्यो भनेपछि कानै नछामि कागको पछि पछि दुर्गुर्ने मूर्ख प्रवृत्तिका छन् भन्ने देखाएको छ । किन भने कसैको स्रोत नै उल्लेख नगरी यस्ता गम्भिर खबर भाईरल बनाउनु गलत थियो ।
एक जना सामान्य डाक्टर मात्रै होईन्न, न त एक आम नेपाली मात्रै हुन् डा. देवकोटा । डा. देवकोटा विश्वकै चर्चित र नेपालको सर्वमान्य चिकित्सक हुनुका नाताले उनको बारेमा सिंगो स्वदेश, विदेशको जनमन सूचनाको भोको हुनु भने स्वभाविक हो । त्यसमाथि उनी यो देशका भूतपूर्व मन्त्री पनि हुन्, भलै त्यो शाही कालको किन नहोस् ।
त्यसैले उनको उच्च तहको चर्चित व्यक्तित्व र गम्भिर बिमार तथा पछिल्लो स्वास्थ्य अवस्थाबारे अस्पताल प्रशासनले पनि नियमित स्वस्थ्य बुलेटिन ननिकालेर भने गल्ती गर्यो ।
शुक्रबार राती १० बजेपछि सुरु भएको डा. देवकोटाको मृत्युको खबर खण्डन गर्न न्यूरो अस्पताललाई शनिबार मध्यान्हसम्म कुर्नु पर्ने कुनै कारण थिएन । सूचना प्रविधिको यस्तो सहज युगमा अस्पतालले शुक्रबारै राती अबेर विज्ञप्ती निकालिदिएको भए, अपुष्ट खबर भाईरल हुनै पाउँदैन्थ्यो ।
सरकारी त के नीजि अस्पताल पनि सूचना सम्प्रेषणमा कति निकम्मा र सुस्त छन् भन्ने सबक यही घट्नाले पनि देखाएको छ । अस्पतालले डा. देवकोटाको स्वास्थय स्थितिबारे औपचारिक र आधिकारिक जानकारी दिन गरेको बिलम्व नै उनका बारेमा दुखद खबर भाईरल बनाउने कारण बन्नु हुँदैन्थ्यो ।
यो पाठ अब अस्पताल प्रशासन र अरु अस्पतालहरुले पनि सिक्नु आवश्यक छ ।
अहिले डा. देवकोटाको केसमा पनि गलत समाचारको चोटको मूल्य डा. देवकोटाको परिवार बाहेक अरुले कमै अनुभूत गर्न सक्छन् ।
तर के यस्ता उडन्ते आधारहिन खबरको जड र जग समातेर नियन्त्रण गर्न सरकारी निकाय वा प्रविधि प्रयोगको सीमा निर्धारण हुन सक्ला त ? यो आवश्यक छ । तर, कसरी लागू होला ? तातो बहससहित सीमाको विकल्पमा सरोकारवालाको ध्यान यही गलत समाचार प्रकरणबाट नै गर्यो भने भावी दिनमा भिआईपी बिमार र मृत्युहरु यस्ता उडन्ते खबर बन्न रोकिएला की ?
नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ता मात्रै होईन, ठूला भनिएका मिडियाहरु प्नि छिटो न्यूज दिने होडमा सम्बन्धित परिवारजनमाथिको मानविय समवदनालाई ख्याल नगरेर धेरै चुकेका उदाहरण छन् ।
पूर्व युवराज पारश वीर विक्रम शाहलाई केही वर्ष अघि बैंकको समितिभेज अस्पतालमा उपचाररत रहेकै अवस्थामा पनि केही मिडिया र आलोचकहरुद्वारा मृत घोषित गरिएकै थियो ।
भलै भगवानका कृपाले पूर्व युवराज पारश शशरीर स्वदेशमा नै धार्मिक र सामाजिक जीवनमा लिप्त छन् ।
ग्राण्डी अस्पतालमा वरिष्ठ संगीतकार अम्वर गुरुङलाई परिवार र अस्पतालले कुनै जानकारी नदिँदै स्वघोषित नेपालको एक नम्वरी दैनिकले मृत बनाएकै हो केही वर्ष पहिले मात्रै ।
नेपाली काँग्रेसका महामन्त्री शंशाक कोईरालालाई ओम अस्पतालको शैयामा उपचाररत रहँदाकै बखत मार्ने पनि यही सामाजिक सञ्जाल र केही मिडिया नै थिए । भलै महामन्त्री कोइराला अझै देशमा जननायक विपीको विचार लागू गर्न सक्रिय राजनीतिमा नै छन् ।
केही महिना पहिले राष्ट्रकवि माधव घिमिरेको मृत्यु खबर पस्कनेहरु अझै बेसरम समाजमा टाउको उठाउँदै छन् ।
यी र यस्ता प्रतिनिधि दृष्टान्तहरुले एकातिर सामाजिक सञ्जाल र मिडियाहरुको सूचना सम्प्रेषणमा अपरिपक्वता रहेको सबक सिकाएका छन् भने उनीहरुले मानविय सम्वेदनामाथि बिवेक पुर्याउन नसकेको पनि देखाएका छन् ।
त्यसैले सामाजिक सञ्जाल र मिडियाले एकातिर आफै करेक्सन हुनेतिर पनि ध्यान दिन जरुरी छ भने नियमक निकायहरु पनि रमित होईन्, क्रसचेक गर्ने औकातमा रहनुपर्ने आवश्यक्ता छ नि छैन र ?
जादाँजादै, पुनः कामना गरौं बिना तक्लिफ, सहज रुपमा अलि धेरै दिन संसार हेरेर परलोक हुने सौभाग्य मिलोस्, वरिष्ठ न्यूरो सर्जन, पूर्व स्वास्थ्य मन्त्री डा. उपेन्द्र देवकोटलाई ।
नेपालको वर्तमान स्वास्थ्य प्रगति र असल समाज निर्माणमा उनको योगदानका कारण उनी भौतिक रुपमा नरहे पनि अजर अमर छन् नै, रहने नै छन् ।
मृत्युलाई शरीर सुम्पिने तहमा पुगे पनि बिचार र योगदानले, संर्घष र असल कर्मले मृत्युलाई हराइसकेका छन्, डा. देवकोटाले । त्यसैले उनको शरीरले मात्रै कम पीडा पाओस् न, जाबो यमराज आफैँ पराजित हुनेछ । हैन र ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया