कोरियन भाषा परीक्षा सुरु

काठमाडौं । नवौं चरणको कोरियन भाषा परीक्षा सुरु भएको छ । बैदेशिक रोजगारीमा जाने अन्य देशको तुलनामा कम खर्च लाग्ने र परिक्षा पास गरेर भिषा लागेपछि कमाइ पनि राम्रो हुने भएकाले युवाहरु कोरिया तर्फ आकर्षित भएका छन् । परिक्षा काठमाडौं र ललितपुरका विभिन्न विद्यालयमा आज र भोली सञ्चालन हुने छ । 

सरकारले यसै वर्ष पाँच लाख युवालाई रोजगारी सृजना गर्ने कार्यक्रम बजेटमा ल्याएपनि त्यसको प्रभाव कोरिया जान चाहँने युवाहरुमा भन देखिएको छैन् । सरकारले बजेटमा पाँच लाख युवालाई रोजगारी दिने उद्घोषसहितको बजेट ल्याएको ११ औं दिनमा भएको कोरियान भाषा परिक्षामा पनि युवा सहभागिता कम हुन सकेन । मुलुकभित्र पर्याप्त अवसर नरहेको र पाएका अवसरमा पनि तलब सुविधा राम्रो नरहेको भन्दै युवाहरु कोरिया जानका लागि भाषा परीक्षामा सहभागी भएका छन् । 

यस पटकको परीक्षाका लागि ८२ हजार २ सय ६४ जनाले आवेदन दिएका थिए । वैदेशिक रोजगार विभागको ‘इपीएस कोरिया शाखा’ले ६३ जना कोरियन अधिकारीको उपस्थितिमा भाषा परीक्षा लिनइरहेको छ । काठमाडौंका १६, ललितपुरका ८ र पोखराका ४ वटा परीक्षा केन्द्रमा भाषा परीक्षा सञ्चालन गरिएको हो । परीक्षा आज र भोलि गरि ४ सिफ्टमा पनि सञ्चालन हुने छ । विश्वविद्यालयको परिक्षाजस्तै परिक्षालाई मर्यादित बनाउन परिक्षा केन्द्र भित्र र बाहिर सुरक्षाकर्मी परिचालन गरिएका छन् । 

कोरियाले सन् २००८ देखि भाषा परीक्षा लिएर नेपाली कामदार लान थालेको हो । यस बर्ष ८२ हजार मध्ये उत्पादनतर्फ चार हजार र कृषि तर्फ छ हजार दुईसय उत्तीर्णले कोरियामा रोजगारीको अवसर पाउने छन् । भाषा परीक्षा पास गरेर हालसम्म करिब ५० हजार नेपाली युवा रोजगारीका लागि कोरिया पुगेका छन् । कोरियामा नेपाली कामदारले औषतमा मासिक दुईलाख नेपाली रुपैयाँ कमाउने गरेका छन् ।

कोरिया भाषा परिक्षाका सहभागि जस्तै सरकारले ल्याएको रोजगारीको नाराले नछोएका अन्य युवाहरु पनि विदेश जानेबारे सोचिरहेका छन् । तिब्र विकासको योजना बनाइरहेको सरकारले त्यस्ता युवाहरुलाई सो देशमै आसो जगाउन विशेष कार्यक्रम ल्याउन जरुरी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?