कर्णाली प्रदेशको नीति तथा कार्यक्रम संघीय सरकारको नक्कल : नेता शाही

सुर्खेत । नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारको नीति तथा कार्यक्रम संघीय सरकारको नक्कल सिवाय फरक नभएको बताएका छन् । 

कर्णाली प्रदेश सरकारले शनिबार प्रस्तुत गरेका आव ०७५-०७६ नीति तथा कार्यक्रमलाई उनले संघीय सरकारको नक्कल मात्र नभई कथाको पाना जस्तो भएको संज्ञा दिए । 

नेता शाहीले “प्रस्तुत नीति तथा कार्यक्रम सुनियो, बुझियो, सबै हँचुवाका तालमा ल्याइएको छ, यसमा सरकारको आफ्नो योजना देखिएन,” भने । 

उनले भने, “नीति तथा कार्यक्रमले कर्णालीको भूगोल र मौलिकतालाई समेट्न सकिएकोे छैन, नत त्यसलाई कार्यान्वयन गर्ने कुनै संयन्त्र छ, निकै ठूला सपना बाँडिएको छ ।” 

प्रदेश सरकारले अर्थतन्त्र बलियो बनाउनका लागि राजश्व उठाउने संरचना पनि तयार नगरेको उल्लेख गर्दै नेता शाहीले पखेटा नभएको नीति तथा कार्यक्रम विकासभन्दा वितरणमुखी हुने देखिएको बताए । 

प्रदेशसभा सदस्य दिनबन्धु श्रेष्ठले पनि सरकारको नीति तथा कार्यक्रमले सस्तो लोकप्रियतालाई मलजल गरेको टिप्पणी गरे । 

बढी महत्वाकांक्षी भएकाले सरकारको नीति तथा कार्यक्रमबाट कर्णालीको तत्कालीन गरिबी अन्त्य गर्न नसक्ने बताउँदै उनले बिगतको संस्कारलाई नै प्रदेश सरकारले अंगालेको आरोप लगाए । 

सत्तापक्षका प्रदेशसभा सदस्य धर्मराज रेग्मीले सरकारले ल्याएको नीति तथा कार्यक्रमको उद्देश्य, परिकल्पना र विकासप्रतिको प्रतिबद्धता ठीकै भएको बताए । 

यद्यपि यसको प्राथमिकता निर्धारण हुन नसक्दा यो वास्तविकताभन्दा अलि टाढा रहेको जस्तो देखिएको छ, उनले भने, “क्षेत्रीय सन्तुलन कायम गर्न सडक, जलविद्युत, कर्णाली पर्यटन हव, प्रादेशिक विमानस्थल र प्रादेशिक स्वास्थ्य संरचना निर्माणलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिइनुपर्छ ।” 

सत्तापक्षकै अर्का सदस्य कौशिला खत्रीले नीति तथा कार्यक्रम तत्कालीनभन्दा पनि दीर्घकालीन आवश्यकता पूरा गर्ने बताए । 

सारमा कर्णाली प्रदेशको नीति तथा कार्यक्रमले सर्वाङ्गीण वर्ग, क्षेत्र र पक्षलाई समेट्न खोजे पनि सीमान्तकृत, अल्पसंख्यक वर्गलाई छुन नसकेको र अझै महिलामैत्री बन्न नसकेको उनको प्रतिक्रिया थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?