विपनाको सपनाः फिल्ममा कमब्याक हुने, छोरालाई हिरो बनाउने (भिडियो अन्तर्वार्ता)

काठमाडौं । नेपाली फिल्मका दर्शकले नायिका विपना थापालाई अझै भुलेका छैनन् । तर उनले चलचित्रमा अभिनय नगरेको धेरै भइसकेको छ ।

चलचित्र ‘वरमाला’ मा लगानी गरेका भारतीय नागरिक आसुतोष भारद्वाजले  उनलाई साँच्चिकै वरमाला पहिराइदिए पछि विपना यो क्षेत्रबाट टाढिइन् ।
अहिले उनलाई नेपाल पानी पँधेरोजस्तै भएको छ । माइती नेपालमा केही समय बिताउन आउँछिन् । फेरि उतै फर्किन्छिन् । 

राजनीतिमा खासै चासो नलाग्ने विपनाको काठमाडौंको परिवार राजनैतिक पृष्ठभूमिको थियो । संयोग के छ भने भारतमा पनि उनका श्रीमान राजनीतिसँग नजिक छन् । पेशाले उनी डाक्टर पनि हुन् ।
विपनालाई भने राजनीतिमा खासै चासो छैन । बरु फुर्सद हुनासाथ उनी फिल्म नै हेर्छिन् । अभिनयसँग विछोड भएपनि नेपाली फिल्म क्षेत्रको विकाससँग उनी अपडेटमै छिन् ।

बिहेपछि भारतमा बस्दै आएकी विपना घर परिवार, संस्कार, संस्कृति आदिका कारण लामो समय नेपाली मिडियाबाट ‘ग्याप’ भइन् । अहिले भने उनको समय पुरानो लयमा आउन खोजिरहेको छ ।
छोरा कुसाग्र हुर्किसकेका छन् ।

कुसाग्रलाई पनि नेपाल आउन भनेपछि उत्तिकै रमाइलो लाग्छ । स्कूल विदा भयो कि, उनी आफै आमालाई नेपाल जान आग्रह गर्छन् । मामाघर ।
बिहेपछि पारिवारिक जीवनमा व्यस्त विपना अब भने नेपाली चलचित्र क्षेत्रमा कमब्याक हुन चाहेको बताउँछिन् । ‘पारिवारिक कारणले गर्दा लामो समय यो क्षेत्रबाट टाढा भएँ, केही वर्षसम्म छोरो हुर्काउने बहाना भयो,’ विपना सुनाउँछिन्, ‘अब त कसाग्र पनि हुर्किसक्यो, कुनै न कुनै माध्यमबाट फिल्ममा फर्किने कि भन्ने सोचिराछु ।’
फिल्ममा बरु निर्माताका रुपमा आउन सक्ने तर निर्देशन गर्ने क्षमता भने आफूसँग नभएको उनी बताउँछिन् । ‘निर्देशन गर्नु सानो कुरा हैन, सबै कुराको उत्तिकै ज्ञान र कल्पनाशीलता चाहिन्छ,

निर्देशन गर्ने खुबी ममा छैन ।’, उनी थप्छिन् ।

त्यसो त फिल्म क्षेत्रमा उनी कुनै योजना बनाएर आएकी थिइनन् । न त उनलाई हिरोइन बन्नु छ भन्ने नै थियो ।
तर, एकदिन उनको भाग्यले नायिका बन्ने बाटो कोरिदियो ।

भर्खर एसएलसी सकेर क्याम्पस भर्ना भएकी थिइन् । स्युचाटारमा उनको घर । कलेजबाट घर जाँदै गर्दा बाटोमा फिल्मको शूटिङ भइरहेको रहेछ । साथीसँगै उनी पनि फिल्मको शूटिङ हेर्न थालिन् । कसो कसो गरेर फिल्म खिचिरहेको क्यामरा विपनातिर फर्कियो । ‘शायद म फोटोजेकिन लागेछ क्यारे उहाँलाई, सिधै आएर फिल्मको अफर गर्नुभयो ।’, विपना मुस्कुराउँदै सुनाइन् ।

केही छिनमा फिल्मकर्मी मोहन निरौला आएर उनलाई सोधे – ‘तिम्रो नाम के हो?’
‘विपना थापा’
‘फिल्ममा हिरोइन हुने हो?’, निरौलाले फेरि सोधे ।
‘मलाई थाहा छैन, घरमा आएर सोध्नुस् ।’, विपनाले यत्ति भनिन् ।
निरौलाले हुन्छ भने । र, ठेगाना नोट गरे ।

केही दिनमै फिल्म निर्माता छविराज ओझा, मोहन निरौला लगायतका फिल्मकर्मी विपनाको घरमा पुगिसकेका थिए । फिल्मको शूटिङ हेर्न आएकी विपनालाई हिरोइनको अफर जो आउँदै थियो ।
‘उहाँहरुले मेरो फ्यामिलीसँग फिल्ममा हिरोइनका प्रस्ताव सुनाउनुभयो, आमाले मलाई नै नसोधी सिधै छोरीले के के न गर्छे भनेझैं खुशी भएर अभिनय गर्छे भनिदिनुभयो ।’, विपना मुस्कुराउँदै सुनाउँछिन् ।

निर्माता, निर्देशक हेराहेर गरे । त्यसपछि शुरु भयो विपनाको फिल्मी यात्रा । पन्ध्र हजारमा उनले पहिलो फिल्म साइन गरिन् । त्यतिबेला चल्तीका हिरोइनहरुले साठी हजारसम्म लिन्थे ।
विपनाकी आमाले सिधै मोहन निरौलालाई भन्नुभएको रहेछ, ‘छोरीले फिल्म खेल्न सकिहाल्छे नि, मनिषा कोइरालाले पनि त फिल्म खेलेकै छिन्, हाम्री छोरी किन नहुने?’
विपनालाई दर्शकले कान्छी नायिकाका रुपमा चिन्न थाले । किनकि, उनी चौध वर्षमै नायिकाका रुपमा डेब्यु गरेकी थिइन् ।

‘फिल्म गर्नु पहिले दुई वटा विज्ञापन पनि गरेकी थिएँ, तर विज्ञापनबाट कसैले चिन्नुभएको थिएन, यो फिल्मपछि पछाडि फर्केर हेर्नु परेन ।’ विपनाले आफ्ना शुरुवाती दिन सनाउँछिन् ।
शक्ति साबुन र चेतनामूलक कण्डमको विज्ञापनमा उनले अभिनय गरेकी थिइन् उनले ।

परिवारले किन त्यति सजिलै हिरोइन हुन सिफारिस गरे होला त? उनी भन्छिन्, ‘हाम्रो परिवार पहिलेबाटै राजनैतिक पृष्ठभूमिको थियो, पचास वर्ष त हाम्रै परिवारले स्युचाटार गाविस चलाएको थियो, परिवारमा रुढीवादी सोच शायद थिएन, नेतृत्व विकास हुने कुरामा छेकबार हुँदैनथ्यो ।’

तर उनले बुबालाई भने सानैमा गुमाउनु परेको थियो । आफू ६÷७ वर्षको हुँदा बुबा गुमाउनु परेको विपना बताउँछिन् । 
आमाले सबै छोराछोरीलाई बुबाको माया पनि दिएर हुर्काएको उनी सुनाउँछिन् । ‘दुःख सधै आर्थिक रुपमा मात्रै हुन्छ भन्ने छैन, एउटी महिलालाई चारवटा छोराछोरी हुर्काउन त्यति सजिलो पक्कै थिएन ।’, विपना थप्छिन् ।

पहिलो फिल्मपछि भने उनलाई पछाडि फर्केर हेर्नु परेन । बरु आफ्नो पढाइलाई सोचेजस्तो गरी अगाडि लैजान सकिनन् । ‘फिल्म क्षेत्रमा आएपछि व्यस्तता यस्तो बढ्यो कि, मैले पढाइलाई धेरै अगाडि बढाउन सकिन, ‘ग्य्राजुएसन’ भन्दा माथि पु–याउन सकिन,’ विपना भन्छिन्, ‘हाम्रो परिवारमा सबैभन्दा कम पढेको मै हो, तर मलाई के लाग्छ भने जुन क्षेत्रमा सक्सेस भइन्छ, त्यही नै शिक्षा हो, फिल्म क्षेत्रमा म सफल भएँ भन्ने लाग्छ ।’

आफैले अभिनय गरेका सबै फिल्म उनका लागि उत्तिकै प्रिय छन् । राजेश हमालसँग गरेका फिल्म होस् या दिलिप रायमाझी, श्रीकृष्ण श्रेष्ठसँगका फिल्म ।
त्यतिबेला काम गर्दा काम गर्न सजिलो दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठसँग लाग्ने बताउँछिन् । अहिले पनि श्रेष्ठलाई आफूले सम्झिरहने उनी बताउँछिन् । 

आफैले अभिनय गरेको फिल्ममध्ये उनलाई ‘तँ त साह्रै बिग्रिस् नि बद्री’ ले पाएको प्रतिक्रियाले धेरै खुशी लागेको रहेछ । ‘मैले कुनै फिल्ममा यो भूमिका गर्दिन भनेर रोएको फिल्म पनि यही थियो, फिल्ममा अभिनय गरिसकेपछि राम्रो रेस्पोन्स पाएको फिल्म पनि यही थियो,’ विपना हाँस्दै सुनाँउछिन्, ‘हरिवंश (आचार्य) दाइले धेरै सम्झाएपछि मात्र यो भूमिका गरेकी थिएँ, जिन्दगीमा कहिल्यै यस्तो भूमिकामा अभिनय गर्न नपरे हुन्थ्यो भन्ने लाग्थ्यो, तर पछि यही भूमिकाले झन् बढी चिनायो ।’

उनका समकालीन अभिनेत्रीमध्ये केही यही क्षेत्रमा छन् भने केही फिल्म क्षेत्रबाट पलायन भइसकेका छन् । उनका साथीमध्ये धेरैसँग हाइ हेलो भइरहन्छ ।
अब त छोरो कुसाग्र पनि हुर्किसकेका छन् ।

उनलाई फेरि फिल्म क्षेत्रमा फर्किने इच्छा छ । ‘पहिले त छोरो हुर्काउनु पर्छ भनेर टारियो, अब छोरो पनि हुर्कियो, अब कमब्याक हुने सम्भावना छ,’ विपना थप्छिन्, ‘मलाई त छोरालाई पनि पर्दामा देख्न मन छ, हिरो बनाउन मन छ, तर अहिले उसको रुचि अभिनयमा भन्दा बढी क्रिकेटमा छ ।’

क्रिकेटमै रुचि देखाएपनि अहिले पनि उनी छोरालाई कसरी हुन्छ, सबै पक्षबाट सबल बनाउन लागिपरेकी छिन्, अभिनयका लागि पनि उनको मोटिभेसन जारी छ । ‘अहिले पनि अभिनय गर्छौ त भनेर सोध्यो भने गर्छु भन्छ, अफर आयो भने जरुर छोरालाई खेलाउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?