अर्जेन्टिनी रेफ्रि पिटनाले विश्वकपको उद्घाटन खेल खेलाउने, पहिलो पटक भिएआर प्रयोगमा ल्याउने

काठमाडौं । अर्जेन्टिनी रेफ्रि नेस्टर पिटनाले फिफा विश्वकप २०१८ फुटबल प्रतियोगिताको उद्घाटन खेल सन्चालन गर्ने भएका छन् । 

रसियाको लुज्निकी रंगशालामा राती पौने ९ बजे आयोजक रसिया र साउदी अरेबियाविच उद्घाटन खेल हुदैछ । मुख्य रेफ्री नेस्टरसँगै जुवान पोब्लो बेटाली र हेर्मान माइडान सहायक रेफ्रीको भूमिकामा हुनेछन् ।

त्यस्तै, ब्राजिलका सान्द्रो रिचीले फोर्थ अफिसियलको भुमिकामा हुनेछन् । फिफा विश्वकपमा पहिलो पटक प्रयोग हुन लागेको भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) टिम पनि उद्घाटन खेलका लागि तय गरिएको छ । जहाँ इटालीका मसिमिलानो इटारी मुख्य रेफ्री हुनेछन् ।

उनलाई अर्जेन्टिनाका माउरो भिग्लियानो, चिलीका कोर्लोस अस्ट्रोजा र इटालीका ड्यानिली ओस्टारोले साथ दिनेछन् ।  उद्घाटन खेलका मुख्य रेफ्री नेस्टरले दोस्रो पटक विश्वकपका खेल खेलाउन लागेका हुन् । यसअघि उनले सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपमा ४ खेल खेलाएका थिए । त्यसपछि उनले रियो ओलम्पिक २०१६ मा पनि खेल खेलाएका थिए ।

२१ औ संस्करणको विश्वकपका ६४ खेलका लागि ३६ रेफ्री र ६३ सहायक रेफ्री नियुक्त भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?