आठ साहित्यकारलाई सम्मान गरिने

काठमाडौँ : नोबेल साकोस साहित्य प्रतिष्ठानले यस वर्ष नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका आठ साहित्यकारलाई पुरस्कृत तथा सम्मान गर्ने भएको छ । 

प्रतिष्ठानका संरक्षक एवं वरिष्ठ समालोचक युवराज मैनालीको संयोजकत्वमा बसेको बैठकले आठ साहित्यकारलाई पुरस्कारद्वारा सम्मान गर्न लागेको हो । 

सम्मानित हुनेहरुमा हरिभक्त मीना साहित्य सम्मान काठमाडौँका विजय चालिसेलाई तुजाखग साहित्य सम्मान काठमाडौँकै हरिप्रसाद सोडारी र दुर्गा विष्णु समालोचना साहित्य सम्मान धादिङका कृष्ण गौतमलाई प्रदान गरिने निर्णय भएको संयोजक मैनालीले जानकारी दिए । पुरस्कार राशि जनही ११ हजार १११ रूपैयाँ रहेको छ । 

यसैगरी, नोबेल साकोस साहित्य सम्मान काठमाडौँका गोपीकृष्ण प्रसाई, एन्जेलिना नेउपाने साहित्य सम्मान लमजुङका श्रीकृष्ण न्यौपाने, हरिभक्त मीना बालप्रतिभा सम्मान पाल्पाका सुधा पाल्पाली र पदम—दीपा साहित्य सम्मान ओखलढुंगाका तुलसीहरि कोइरालालाई दिने निर्णय गरिएको छ । उक्त पुरस्कारको राशि पाँच हजार ५०० रूपैयाँ रहेको छ । 

यस्तै, निरन्तर साहित्य सम्मान गुल्मीका लीलाधर पाण्डेलाई प्रदान गर्ने निर्णय गरिएको छ । उक्त सम्मानको पुरस्कार राशि रु दुई हजार २०० रहेको छ । यी सबै पुरस्कार तथा सम्मान आगामी असार २ गते शनिबार एक कार्यक्रमका बीच वितरण गरिने संयोजक मैनालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?