केन्द्र सरकारले कर्णालीबासीलाई अन्याय र उपेक्षा गर्यो : सांसद शाही

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले केन्द्र सरकारले बजेटमा कर्णालीमाथि सौतेनी व्यवहार गरेको गुनासो गरेकी छन् । 

शुक्रबार राजधानीमा पत्रकारहरुसँग कुराकानी गर्दै सांसद शाहीले ओली सरकारले बजेटमा कर्णालीलाई अर्कै राज्य जस्तो ठानेर व्यवहार गरेको गुनासो गरिन् ।

‘पानीजहाज चढेर हिन्दमहासागर जाने सपना देखाउने सरकारले हवाईजहाज चढेर काठमाडौं आउने कर्णालीका जनताको आवश्यकता बुझ्न सके ठूलो उपलब्धि हुने थियो ।’ उनले भनीन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले रारा तालको डिलमा बसेर कर्णाली समृद्ध बनाउने घोषणा गरे पनि नीति तथा कार्यक्रम र बजेटमा कर्णालीलाई पुरै अन्याय र उपेक्षा गरेको बताइन् ।’

‘कर्णाली रारा पर्यटन वर्ष २०७५ को उदघाटन गर्दै प्रधानमन्त्री ओलीले कर्णालीलाई यस्तो गर्छु र उस्तो गर्छु भनेर आश्वासन दिए । तर, बजेटमा हेर्दा कर्णाली भन्ने ठाउँपनि नेपालमा पर्छर भनेजस्तो देखियो । यो अत्यन्तै दुःखद कुरा हो,’ उनले भनिन् । 

शाहीले भनीन् सिंहदरबारमा बस्ने नेता तथा कर्मचारीलाई कर्णालीको समस्या र आवश्यकता के थाहा ? सिंहदरबारमा बसेर कर्णालीको समस्याको अनुमान लगाउन सकिदैन । 

काठमाडौंमा उपभोग्य बस्तुको मुल्यमा २ रुपैयाँ बढ्यो भने कर्णालीमा २ सय बढ्छ । एक हजारमा काठमाडौंमा सिमेन्ट आउँछ भने कर्णालीमा १० हजार पर्छ । त्यसैले बजेट निर्माणमा संलग्न सिंहदरबारका कर्मचारीले कर्णाली जनताको पीडा र व्यथा बुझ्न सक्दैनन् । बजेटमा कर्णालीमाथि सरकारले सामाजिक न्याय होइन अन्याय गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?