काठमाडौं । नेपाली फिल्मले घरेलु दर्शकको मन जित्यो, हिन्दी फिल्मले ओगटेको बजारलाई पाखा लगाएर दर्शकले नेपाली फिल्म रोजे भन्न थालिएको धेरै भएको छैन । तर यतिबेला भने हिन्दी फिल्मको घानमा नेपाली फिल्म परेका छन् ।
यो शुक्रवारलाई हेर्ने हो भने नेपाली फिल्मलाई हिन्दी फिल्मले पिसेका छन् । गत हप्ता रिलिज भएको किशोर भण्डारीको फिल्म चंगाले राम्रो व्यापार गर्न सकेन । अर्कातिर अन्य नेपाली फिल्म पनि रिलिजका लागि तयार भएनन् । त्यसमाथि झन् दक्षिण भारतीय फिल्म ‘काला’ ले पनि दर्शक तानेको छ ।
यो त हलको कुरा भयो, अर्कातिर युट्युबमा पनि हिन्दी फिल्मको क्रेज देखिएको छ । केही दिनअघि रिलिज भएको नेपाली फिल्म ‘राज्जा रानी’ ले राम्रो तारिफ बटुलेको थियो । युट्युबमा नेपालको ट्रेन्डिङमा आफूलाई दबाएर राखेको थियो ।
तर, शाहरुख खानको फिल्म ‘जिरो’ को टिजरले उक्त फिल्मलाई उछिनेको छ । त्यस्तै अर्को हिन्दी फिल्म ‘धडक’ को ट्रेलर तेस्रो नम्बरमा छ ।
सरसर्ती हेर्दा के देखिन्छ भने यतिबेला नेपाली फिल्म बजार फेरि भारतीय फिल्मले तानेका छन् । सलमान खानको इन्ट्रीसँगै नेपाली फिल्मको बजार फेरि हिन्दीमय भएको बेला शाहरुख खानको ‘जिरो’ ले डिजिटल साइट युट्युबमा पनि आफूलाई नम्बर एकमा राख्न सफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया