जो दुनियाँ हँसाउन जन्मे : चार्ली चाप्लीन

हाँस्नु स्वास्थ्यका लागि राम्रो भनेर विज्ञानले नै प्रमाणित गरेको छ । जस्तोसुकै अनुहार पनि हाँस्दा जून जति नै राम्रो देखिन्छ । त्यसैले हाँस्न कसलाई मनपर्दैन होला र ?

भन्छन् हाँस्न जति सजिलो छ, अरुलाई हँसाउन उति नै गाह्रो ।

जबजब हामी हाँस्ने हँसाउने कुरा गर्छौँ तब एउटा नाम सबैको मस्तिष्कमा आउँछ । चार्ली च्याप्लिन ।

उनलाई किङ्ग अफ कमेडी भन्दा फरक नपर्ला ।

उनको आफ्नै छुट्टै स्टाइल छ । छोटो चुस्स जुँगा, हातमा लठ्ठी, टाउकोमा ह्याट, पर्फेक्ट कमिक टाईमिंग अनि छिनछिनमा परिवर्तन भइरहने उनको आवाजविहीन हाउभाउ ।

अहिलेसम्मकै सर्वाधिक लोकप्रिय कलाकारहरुमा एक हुन् उनी । तर यो नाम, इज्जत, धनको पछाडि कति धेरै संघर्ष र चुनौतीहरु थिए भनेर सायदै धेरैलाई थाह होला ।

“३ महिनामा हामीले कम्तीमा ६ वटा बस्ने ठाउँ फेर्यौँ । पैसा तिर्न नसकेर घरबाट निकालिदिन्थे। ओढ्ने ओछ्याउने बोकेर हामी बाहिरै बस्थ्यौँ । अर्को ठाउँ नभेटिउन्जेल ।

म र मेरो भाई कहिलेकाहीँ बाटोमा राखेको दोकानहरुबाट सामान नि चोर्थिम । म चाहिँ होटेलको ढोकामा नाँचेर पनि केही पैसा कमाउँथेँ । हाम्रो परिवारको गुजारा प्राय गरिबहरुलाई बाँडिने राहतबाटै चल्थ्यो ।”

यो चार्ली च्यापलिनकै जीवनमा घटेको घटना हो ।

अरुलाई हँसाउनको लागि सुरुमा आफैँ खुसी हुनुपर्छ भन्ने मान्यता पनि छ । तर यस्तो पृष्ठभूमिबाट आएको बालकले आफूलाई ग्लोबल स्टारका रुपमा स्थापित गर्नु कुनै कल्पनाभन्दा कम छैन ।
उनको जन्म सन् १८८९, अप्रिल १६मा भएको थियो । उनको जन्मदर्ता छैन । न त नागरिकता नै ।

उनका पिता चाल्र्स च्यापलिनले सानैमा छोडेपछि उनीहरुलाई हुर्काउने, बढाउने जिम्मेवारी आमा हन्नाको काँधमा आयो । उनीसँग कुनै स्थायी काम थिएन । कहिलेकाहीँ कपडा सिलाउँथिन् ।

उनी मानसिक रोगकी सिकार पनि थिइन् । उनले छोराहरुको हेरचाह गर्न नसक्ने भएर चार्लीलाई अनाथ र गरिबहरु पढ्ने स्कुल पठाइयो । त्यसैगरी हन्नालाई मानसिक अस्पताल भर्ना गरियो । त्यस स्कुलमा बिताएको समय चार्लीको जीवनकै अत्यन्त कष्टपूर्ण दिनमा गनिन्छन् ।  

उनको जीवनका केही नदेखिएका पाटाहरु :-

–   चार्लीले ९ वर्षको उमेरदेखि स्टेजमा पर्फम गर्न थालेका हुन् । उनले एक डान्स ग्रुपसँग आबद्ध भएर विभिन्न ठाउँमा प्रस्तुति दिए । तर उनलाई नाँच्नभन्दा हाँस्य क्षेत्रमा काम गर्ने ईच्छा थियो । त्यसैले उनले रंगमञ्च हुँदै बिस्तारै सिनेमा जगतमा प्रवेश गरे ।

–    च्याप्लिनकी आमालाई छोराले पढोस् भन्ने ईच्छा थियो तर उनले पारिवारिक अवस्थाका कारण १३ वर्षको उमेरदेखि पढाई छोडिदिए । 

–   सन् १९८१ अक्टोबर ४ मा फेला पारिएको एक ग्रहिकालाई चार्ली च्यापलिनको सम्झनामा उनकै नाम प्रदान गरिएको थियो (‘३६२३ च्यापलिन’) ।

–    सन् १९२५ मा ‘टाइम’ पत्रिकाको जुलाईको अङ्कमा उनको तस्विर बाहिर आवरणमा राखिएको थियो । सो पत्रिकाको आवरणमा देखा पर्ने पहिलो कलाकार चार्ली नै हुन् ।

–    चार्लीले जम्मा ४ वटा विवाह गरे जसमध्ये पहिलो ३ विवाह असफल भयो । उनकी चौँथी पत्नी उना ओनिल उनीभन्दा ३५ वर्ष कान्छी थिइन् । चार्लीका जम्मा ११ जना छोराछारी थिए ।

–   चार्लीजस्तै देखिने प्रतियोगीता आयोजना हुँदा उनले पनि भाग लिए । आफूजस्तै देखिनुपर्ने प्रतियोगीतामा उनले २०औँ स्थान हाँसिल गरेका थिए भन्ने खबर निक्कै लोकप्रिय भएको थियो ।

–   ओस्करको इतिहासमा सबैभन्दा लामो स्ट्यान्डिङ्ग ओभेसन उनैलाई दिइएको थियो । उनले एकपटक ओस्कार जितेका छन् ।

–   उनको मृत्युपछि, चोरहरूले उनको शव राखिएको कफिन चोरेर ६ लाख स्वीस फ्रान्क्स रकम मागेका थिए । त्यसको ११ हप्तापश्चात, एक मकैबारीमा उनको कफिनलाई गाढेर राखेको अवस्थामा फेला पारिएको थियो । साथै चोरहरू पनि समातिएका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?