काठमाडौं । ‘शान्ति–सुरक्षा, विकास र समृद्धिका’ लागि टोल–टोलमा प्रहरी विशेष अभियान शनिबारबाट शुरु भएको छ ।
यो अभियानको प्रहरी महाननिरीक्षक सर्वेन्द्र खनालले भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा आयोजित विशेष कार्यक्रमका बीच शुरु गरेका हुन् ।
निकै खरो रुपमा प्रस्तुत भएका खनालले भने, टोल–टोलमा प्रहरी अभियान अपराधिक गिरोह र खराब चरित्रका ब्यक्तिहरुसँग साँठगाँठ गर्नलाई होइन भन्ने कुरामा सबै प्रष्ट हुन जरुरी छ ।
यो अभियानले प्रहरीलाई हरेक नागरिकको मन–मनमा बस्न सहयोग गर्ने अपेक्षा गरेको छु खनालले थपे, नागरिक मैत्री प्रहरीको रुपमा छवि विस्तार गर्नु पर्छ होइन भने कारवाहीको भागिदार बन्नुपर्छ ।
अपराधि र खराब चरित्रका व्यक्तिसँग कुनै सम्झौता हुनु हुँदैन, उनले प्रहरी कर्मचारीलाई निर्देशन दिँदै भने–खराब आचरणका प्रहरी कर्मचारी संगठनबाटमात्र होइन समाजबाट समेत सदाका लागि लज्जित भएका छन् ।
यो अभियानले आमनागरिकको शान्तिसुरक्षा प्रभावकारी बनाउनका साथै अपराध विरुद्धको अभियानमा प्रहरी र नागरिकबीचको सम्बन्ध थप बलियो बन्ने विश्वास उनले व्यक्त गरेका हुन् ।
आफू व्यक्तिगत स्वार्थभन्दा धेरै टाढा रहेर प्रहरी संगठनलाई नमूना संगठन बनाउन लागि परेको चर्चा गर्दै उनले समाजमा देखिएका गलत प्रवृतिका विरुद्ध कठोर रुपमा प्रस्तुत हुनु पर्ने अवस्था आएको बताए ।
गृहमन्त्रालयका सहसचिव एवं शान्तिसुरक्षा महाशाखा प्रमुख रामकृण सुवेदीले सिमित स्रोत साधनका बापजुत पनि प्रहरीले गृह प्रशासन सुधार मार्गचित्र–२०७४ अन्तरगत टोल–टोलमा प्रहरी अभियान सञ्चालनमा ल्याएको स्पष्ट पारे ।
अभियानलाई सार्थक तुल्याउन लक्षित वर्ग तथा समुदायसम्म पुर्याउन सबैको सहभागिता अनिवार्य भएको धारणा राख्दै गृह प्रवक्ता समेत रहेका सुवेदीले ‘‘सुखी नेपाल, समृद्ध नेपाल, शान्ति–सुरक्षा, विकास र समृद्धिको आधार’’ भएको बताए ।
सुरक्षा विज्ञ एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोविन्दप्रसाद थापाले प्रहरी संगठनलाई आधुनिक प्रविधिमैंत्री बनाइ यसको कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
टोल–टोलमा प्रहरी अभियान नाराको रुपमा मात्र नभइ साच्चै आम समुदायको घर–टोलसम्म लैजान सुझाव पनि उनले दिए ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आयोजित उक्त कार्यक्रममा सातै वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षकहरुसँग भिडियो सम्वाद मार्फत यो अभियान सञ्चालन गर्न निर्देशन गरिएको थियो ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रमुख मनोज न्यौपाने र डिआइजी धिरु बस्नेतले टोल–टोलमा प्रहरी अभियान सञ्चालन भएसँगै अपराध र अपराधिको जरो नै उखेल्न सहयोग पुग्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया