रोल्पामा टेलिफोन सेवा अबरूद्द, सास्ती खेप्दै जिल्लाबासी

रोल्पा : रोल्पाको सदरमुकाम लिवाङबाहेकका अन्य स्थानमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । असिना पानी तथा चट्याङका कारण टावरमा आएको खराबीसँगै सेवा अवरुद्ध भएको छ ।

पूर्वी रोल्पाको सातदोबाटोमा रहेको टावरमा लामो समयदेखि आएको समस्याका कारण पूर्वी रोल्पाका बासिन्दा सास्ती भोग्दै आएका छन् । सो टावरमा आएको समस्यासँगै पूर्वी रोल्पाका तीन वटा गाउँपालिका प्रभावित भएका छन् । सुनछहरी गाउँपालिकाको गाम, सिउरी र सेरममा पूरै सेवा अवरुद्ध छ भने अन्य वडा पनि आंशिक रुपमा प्रभावित भएका छन् । केही दिन अघि परेको चट्याङका कारण सिष्टम जलेपछि सेवा अवरुद्ध भएको टेलिकम रोल्पाले जनाएको छ । 

समस्या देखिएका टेलिफोन टावर मर्मतका लागि आफूहरुले अञ्चल कार्यालय तुल्सीपुरलाई जानकारी गराएको नेपाल टेलिकम रोल्पाका प्राविधिक प्रतापकुमार महतोले जानकारी दिनुभयो । टावरमा ठूलो समस्या देखिएका कारण जिल्लाको जनशक्तिले नभ्याउने भएकाले अञ्चल कार्यालयमा जानकारी गराएको र केही दिनमै सेवा सुचारु हुने महतोले दाबी गरे 

सेवा अवरुद्ध हुँदा स्थानीय अत्यावश्यक सेवाका लागिसमेत घण्टाैं हिँडेर फोन गर्न बाध्य भएको स्थानीय शिक्षक देवसिंह ठकुरीले गुनाशो गरिन् । उता पश्चिम रोल्पाको रातामाटा रिपिटर टावरमा आएको खराबीका कारण चार दिनदेखि अवरुद्ध टेलिफोन सेवा अझै सुचारु नहुँदा यहाँका स्थानीय मर्कामा परेका छन् । 

टेलिफोन सेवा अवरुद्ध हुँदा पश्चिम रोल्पाका आधा दर्जन बढी गाउँपालिका र रुकुम पूर्वका केही गाउँपालिका समेत टेलिफोन सेवा विहीन हुन पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?