प्रदेश नं ७ मा खेलकुदका लागि २७ करोड ३४ लाख बजेट

कैलाली। प्रदेश नं ७ मा खेलकुद क्षेत्रका लागि  २७ करोड ३४ लाख ६४ हजार बजेट विनियोजन गरिएको छ । 

पहिलो पटक यतिधेरै बजेट विनियोजन गरिएपछि प्रदेश नं ७ का खेलप्रेमी हौसिएका छन् । प्रदेश सरकारले प्रदेशसभा बैठकमा गत असार १ गते उक्त बजेट प्रस्तुत गरेको थियो । 

कैलाली जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दीपकबहादुर सिंहले खेलकूद क्षेत्रका लागि यति धेरै बजेट हाम्रो क्षेत्रमा कहिल्यै नआएको बताए । कैलाली जिल्लाको खेलकूद विकासका लागि मात्रै करिब ९ करोड बजेट विनियोजन गरिएको छ ।

 धनगढीको फाप्ला क्रिकेट मैदान बनाउन ५ करोड,  बहुउद्देश्यीय कभर्ड हलका लागि १ करोड,  जिल्लाका सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा खेलकूदका संरचना निर्माण गर्न २ करोड,  मुख्यमन्त्री कप सञ्चालन गर्न ७५ लाख,  राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी सम्मान गर्न १५ लाख र धनगढी रंगशालामा स्वीमिङ पुल निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पार्न २० लाख बजेट विनियोजन गरिएको हो ।

थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी जन्माएको प्रदेश नं ७ को खेल क्षेत्रको विकासका लागि यसअघिसम्म केन्द्र सरकारबाट पर्याप्त बजेट विनियोजन हुन नसक्दा खेलकूदका आवश्यक पूर्वाधार अभावको महसुस खेलाडीहरुले गर्दै आएका थिए ।

समस्याका बीच पनि यस प्रदेशबाट दीपक विष्ट, विष्णुबहादुर सिंह, डम्मरदत्त भट्ट, जगदीशप्रसाद भट्ट, भरत शाह, निसा रावललगायत थुप्रै अन्तराष्ट्रिय र राष्ट्रिय खेलाडी जन्माइसकेको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा ‘स्वस्थ्य युवा, प्रदेशको खम्बा’ नाराका साथ मुख्यमन्त्री कप खेलकूदअन्तर्गत मुख्यमन्त्री कप अन्तरप्रदेश क्रिकेट, फुटबल, भलिबल र ब्याडमिन्टन जस्ता प्रतियोगिता सञ्चालन गरिने छन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिई देश र प्रदेशलाई चिनाउने प्रदेशका खेलाडीलाई सम्मान गर्ने नीति पनि प्रदेश सरकारको छ ।

खेलप्रतिको युवाको बढ्दो आकर्षणलाई सम्बोधन गर्न हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा एउटा खेल मैदान निर्माण गर्न ६ करोड ४० लाख रकम विनियोजन गरिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?