इंग्ल्याण्डको युवा खेलाडीबाट अपेक्षा, कस्तो रहला प्रर्दशन?

काठमाडौं। फिफा विश्वकप फुटबल अन्तर्गत आजराती इंग्ल्याण्डले  ट्युनिसियाको सामना गर्दैछ । 

यि दुई टिमविचको खेल भोल्गोग्राड एरिनामा नेपाली समयअनुसार ११ः४५ बजेपछि सुरु हुनेछ । युवा खेलाडीले भरिएको इंग्ल्यान्डले आफ्नो समूह चरणको पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको टिम ट्युनिसियालाई सहजै पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रदै छन् ।

हरेक विश्वकपमा दाबेदार टिमका रुपमा रहेको इंग्ल्यान्ड रसिया विश्वकपमा पनि दाबेदार टिममध्येको एक टोली हो । तर, हरेक संस्करणका विश्वकपमा इंग्ल्यान्डले सोचे अनुरुप प्रर्दशन गर्न सकेको छैन् । अहिले इंग्ल्यान्डको टोलीमा युवा खेलाडीहरुको जमात छ । इंग्ल्यान्ड यही युवा टोलीको भरमा विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ ।

इंग्ल्यान्डले विश्पकप जित्न नसकेको ५२ वर्ष पुगिसकेको छ । एक पटकको उपाधि विजेता इंग्ल्यान्डले सन् १९९० मा सेमिफाइनलमा पुग्नु त्यसपछिको सबैभन्दा ठूलो उपलब्धि हो । त्यसयता सन् २००२ र २००६ को विश्वकपमा इंग्ल्यान्ड क्वार्टरफाइनलसम्मबाटै बाहिरिएको थियो ।

२०१४ को विश्वकप भने इंग्ल्यान्डका लागि बिर्सनलायक नै बन्यो । इटाली, उरुग्वे र कोस्टारिका रहेको समूहबाट इंग्ल्यान्ड जितविहीन हुँदै घर फर्कियो ।

त्यतिबेलाका चर्चित स्ट्राइकर वाइन रोनीको बर्हिगमन भैसक्दा नयाँ स्टारको रुपमा ह्यारी केन, मार्काेस रासफोर्ड, जेमी भार्डी र रहिम स्ट्रलिङजस्ता स्टार खेलाडीहरूको जन्म भइसकेको छ ।

यिनै युवा खेलाडीको भरमा इंग्ल्यान्ड ट्युनिसियामाथि हावी हुने देखिएको छ । प्रशिक्षक ग्यारेथ साउथगेटले अधिकांश युवा खेलाडीलाई यसपटकको विश्वकपमा विश्वास गर्दै इंग्ल्यान्डले लामो यात्रा तय गर्नेमा आशावादी छन् ।

यस अघि सम्पन्न अभ्यास खेलमा इंग्ल्याण्डले नाइजेरियालाई २–१ गोलले तथा कोस्टारिकालाई २–० ले पराजित  गरेको थियो । 

यता, ट्युनिसिया इंग्ल्यान्डलाई कडा टक्कर दिदै बराबरी गर्ने रणनितिका साथ मैदानमा उत्रदैछ । अफ्रिकी टोली ट्युनिसियाको नकआउट चरणसम्म पुग्ने लक्ष्य रहेको छ । अहिलेसम्म विश्वकपमा ट्युनिसियाले नकआउट चरणभन्दा माथिको यात्रा तय गर्न सकेको छैन् ।

विश्वकपअघिको मैत्रीपूर्ण खेलमा ट्युनिसियाले टर्कीलाई २–२ गोलको बराबरीमा रोकेको थियो भने पूर्व विश्व च्याम्पियन स्पेनसँग १–० ले पराजित भएको थियो ।

सन् १९९८ यता इंग्ल्याण्ड र ट्युनिसिया तेस्रो  पटक आमने—सामने हुन् लागेको हो । यसअधि सन् १९९० मा भएको मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो भने १९९८ को विश्वकपको समूह चरणमा भेट हुँदा इंग्ल्याण्ड २–० गोल अन्तरले विजयी भएको थियो । 

प्लेयर टु वाच

ह्यारी केन, इंग्ल्याण्ड 

ओहावी काजारी, ट्युनिशिया

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?