काठमाडौं । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले प्रहरी नायव निरीक्षक (सई ) देखि प्रहरी उपरीक्षक (एस्पी ) सम्म एकै दिन १ हजार ३२४ जनाको सरुवा तथा पदस्थापना गरेको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिकाको न्यूयोर्कमा आयोजित विशेष कार्यक्रममा सहभागी हुन जानुभन्दा अगाडि २०७५-३-३ गतेको मिति राखेर एकै पटक यतिको संख्यामा प्रहरी अधिकृतहरुको सरुवा तथा पदस्थापना गरिएको यो पहिलो घटना हो ।
सरुवा हुनेहरुमा २८ जना एस्पीहरु छन् । एस्पीहरुमा सोमेन्द्र राठौर अपराध महाशाखा, शेखर खनाल ललितपुर परिसर, मुकुन्द मरासिनी ट्राफिक महाशाखा, दिनेशराज मैनाली विमानस्थल र कृष्ण पल्ली मगर सम्पति शुद्धिकरणमा सरुवा भएका छन् ।
त्यस्तैं, ५० जना प्रहरी नायव उपरीक्षक (डिएस्पी) हरुको सरुवा निकालेको छ । महानगरीय प्रहरी कार्यालय अन्तरगतका सात वटा प्रहरी बृत्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षकहरुको सरुवा गरिएको छ ।
विभागका अनुसार, महानगरीय प्रहरी बृत्त सिंहदरवारमा काजीकुमार आचार्य, बानेश्वरमा गोविन्दराज काफ्ले, बालाजुमा चिरन्जीवी कोइराला, थानकोटमा नवरत्न पौडेल, महाराजगञ्जमा भेषराज रिजाल, थिमीमा मिलन केसी र चापागाँउमा राजकुमार खिउजु सरुवा भएका छन् ।
त्यस्तैं, जिल्ला प्रहरी कार्यालय रसुवामा सन्तोष तामाङ, भोजपुरमा केशव थेवे, इलाका प्रहरी कार्यालय लाहनमा राजेश थापा, बर्दिवासमा नकुल पोखरेल, चितवनको टाँडीमा दयानिधि ज्ञावली सरुवा भएका छन् ।
केही दिनअघि बढुवा भएका ५५ जना डिएस्पीहरुको पनि पदस्थापना गरिएको छ । डिएस्पी किरणजंग कुँवर महानिरीक्षकको सचिवालय, भीष्म हुमागाई अख्तीयार र उद्धवसिंह भाट प्रदेश ट्राफिक कार्यालय कैलाली सरुवा भएका छन् ।
यसैबीच, ९० जना प्रहरी निरीक्षकहरुको पनि पदस्थापना गरिएको छ । राति नै १ हजार १०१ जना प्रहरी नायव निरीक्षकहरुको पनि सरुवा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया