चिनी मिल सञ्चालकमाथि गृहमन्त्रीको डण्डा !

काठमाडौं । गृहमन्त्री रामबहमदुर थापा ‘बादल’ ले कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रसर उद्योगलाई छिट्टै कारवाही गर्ने बताएका छन्  ।

आज गृह मन्त्रालयमा गृहमन्त्री ‘बादल’ र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादव सहितको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सुनसरी, सिराहा, सर्लाही, बारा, पर्सा, नवलपरासी लगायतका जिल्लाहरुमा उखुको रकम भुक्तानी नगरेको भनी उजुरी परेकोमा प्रमुख जिल्ला अधिकारीले उद्योगीहरुलाई बोलाई छलफल गरी तत्काल कृृषकको रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

 उद्योगीहरुले तत्काल कृषकको रकम दिन नमानेमा कानुन कमोजिम कारवाही गर्ने सम्बन्धमा राय सहित सात दिनभित्र गृहमन्त्रालयमा सिफारिस गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई बैठकले निर्देशन दिएको छ ।

यसैगरी बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका क्रसर उद्योगहरु सञ्चालनको अनुमति दिने निकायहरु खानी विभाग, घरेलु तथा साना उद्योग कार्यालय, तत्कालिन जिल्ला विकास समिति, स्थानीय तहहरुले अनुमति दिए नदिएको जानकारी लिने जनाएको छ । 

क्रसरको प्रकृति, मापदण्ड पुगे नपुगेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयहरुले जिल्लास्थित स्थानीय कार्यालयहरुसँग समन्वय गरी पाँच दिनभित्र  सो सम्वन्धमा आवश्यक विवरण गृह मन्त्रालयमा पठाउन निर्देशन दिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?